काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध २९ उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेकोमा बहालवाला जिल्ला न्यायाधीश र अधिवक्ताहरूले नै उजुरी हालेका छन् ।
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्धका उजुरी खोल्नका लागि आगामी सोमबार बैठक बोलाएको छ । बैठकको कार्यसूचीमा प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्धका उजुरी खोल्ने र ती उजुरी माननीय सदस्यहरूलाई जानकारी गराउने तथा उजुरी कसरी टुंगो लगाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गरिए न्यायालय र पदको अवहेलना हुने, कार्कीको सर्वोच्च अदालत प्रवेश नै राजनीतिक सौदाबाजीमा भएको, नाटकीय ढंगले दलीय आबद्ता र आशीर्वादका आधारमा अप्राकृतिक छलाङ मार्ने प्रवृत्तिको रहेको जस्ता आरोप उजुरीकर्ताले लगाएका छन् ।




