काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको वैशाखसम्मको तुलनामा २३.४ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको यस्तै अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो ।
१० महिनाको अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले बढेर ७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले बढेको छ । १० महिनामा ४ लाख २१ हजार २७९ जना श्रमिक नयाँ श्रम स्वीकृति लिएर विदेश गाएका छन् ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले वृद्धि भई रु.१११० अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.३ प्रतिशतले बढेको थियो।
चालु आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा नेपालमा विदेशी मुद्राको सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । चैतसम्म १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ विदेशी मुद्राको सञ्चिति थियो ।
सो रकमले ९.४ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्थ्यो । १० महिना (वैशाखसम्म)को सञ्चितिले भने ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
चैत महिनासम्मको सञ्चिति भन्दा ३६ अर्ब ६० अर्ब रुपैयाँ धेरै हो । २०७९ असार मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रहेको थियो । वैशाख २०८० सम्म आइपुग्दा सञ्चितिमा २०.९ प्रतिशत थप भएको हो । अमेरिकी डलरमा २०७९ असार मसान्तसम्म ९ अर्ब ५४ करोडको सञ्चिति रहेकोमा २०८० वैशाखसम्म ११ अर्ब २१ करोड देखिएको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार विदेशी मुद्राको सञ्चिति २० महिना यताकै उच्च विन्दुमा पुगेको छ ।






