सन नेपाल लाइफद्वारा मधेश प्रदेशका एडीएम तथा अभिकर्ता सम्मानित

काठमाडौँ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा इमर्जिङ सन क्लबमा आबद्ध योग्य अभिकर्तालाई सम्मान तथा अवार्ड प्रदान गरेको छ।

शनिबार बर्दिबास रिसोर्टमा आयोजित कार्यक्रममा मधेश प्रदेशका विभिन्न शाखाका एडीएम, उत्कृष्ट अभिकर्ता, क्षेत्रीय प्रबन्धक तथा शाखा प्रमुख सहभागी थिए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाईं र मधेश प्रदेश प्रमुख नवराज चौधरीको पनि उपस्थिति थियो।

कार्यक्रममा मधेश प्रदेश प्रमुख चौधरीले बिक्री नीति २०८३/८४ तथा आगामी कार्यक्रमबारे जानकारी गराउँदै अभिकर्तालाई कम्पनीका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसाय विस्तारमा सक्रिय हुन आग्रह गरे।

प्रमुख बजार अधिकृत चौलागाईंले अभिकर्ताको हकहित, सेवा–सुविधा र व्यावसायिक विकासलाई कम्पनीले प्राथमिकतामा राखेको बताए। अभिकर्ताको व्यावसायिक यात्रालाई सहज बनाउन कम्पनी सहकार्य र सहजीकरणका लागि तयार रहेको उनको भनाइ थियो।

प्रमुख कार्यकारी अधिकृत अर्यालले मधेश प्रदेशमा सन नेपाल लाइफले छुट्टै पहिचान र सकारात्मक व्यावसायिक छवि बनाउन सफल भएको बताए। कम्पनीको सफलतामा मधेश प्रदेशका अभिकर्ता, एडीएम तथा शाखा टोलीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले उनीहरूको मेहनतको प्रशंसा गरे।

मधेश प्रदेशमा बीमाको पहुँच विस्तारसँगै अभिकर्ता तथा एजेन्सी सञ्जाललाई थप सशक्त बनाउने योजना रहेको अर्यालले बताए। उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई आगामी दिनमा पनि निरन्तर प्रोत्साहन तथा सम्मान गरिने उनले प्रतिबद्धता जनाए।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने एडीएम तथा इमर्जिङ सन क्लबका योग्य अभिकर्तालाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो।

सन नेपाल लाइफले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा तथा बीमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। कम्पनीले बीमाको पहुँच विस्तार, अभिकर्ता सञ्जाल विकास, ग्राहक सेवा र दिगो व्यावसायिक वृद्धिलाई प्राथमिकतामा राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *