किसानका पीडा : ‘सस्तोमा बेचौँ लगानी उठ्दैन, नबेचौँ सडेर जान्छ’

उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा फलाएका छन्। उनले मात्र होइन यसपालि सो वडाका एक सय ५०कृषकले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरेका छन्।

तर गोलभेँडा बिक्री गर्न भने उनीहरूलाई हम्मेहम्मे परेको छ । बिक्री भए पनि उनीहरुले उचित मूल्य नपाएको उनीहरूको गुनासो छ। वडाध्यक्ष अनन्त हायुका अनुसार वडामा चार सय रोपनीभन्दा बढी जग्गामा खुलारुपमा र चार सय रोपनी जतिमा टनेलमा गोलभेँडा उत्पादन गरिएको छ। उक्त वडामा मात्रै यस वर्ष ५० टनभन्दा बढी गोलभेँडा उत्पादन भएको गोलभेँडा संकलन केन्द्रका नुजराज कार्कीले जानकारी दिए।

‘उत्पादन पर्याप्त मात्रामा भएको छ, तर कृषकले चाहेको जस्तो मूल्य पाएका छैनन्,’ उनले भने, ‘हामीसँग चिस्यान केन्द्र पनि छैन । भण्डारण गरेर राख्न सक्ने अवस्था छैन।’

कार्कीका अनुसार केन्द्रले जस्ताको छानो भएको भवनमा गोलभेँडा सङ्कलन गर्ने गरिएको छ । चिस्यान केन्द्र नहुँदा गोलभेँडा भण्डारण गरेर राख्ने र पछि उचित मूल्य पाएपछि बिक्री गर्ने अवस्था छैन।

कृषक पुष्पराज खड्का गोलभेँडा उत्पादन भएकामा जति खुसी छन् त्यो भन्दा बढी उचित मूल्य नपाएकोमा दुःखी छन्। ‘प्रतिकिलो गोलभेँडा २० रूपैयाँमा बिक्री गर्नुपरिरहेको छ,’ उनले भने, ‘राखौँ बिग्रेर जान्छ, सस्तोमा दिए लगानी पनि उठ्ने अवस्था छैन।’

कार्कीका अनुसार उक्त वडाको गोलभेँडा ओखलढुङ्गा, सोलुखुम्बु, जिल्लाकै कटारी बजार, गाईघाट, सिन्धुलीको दुधौली र सिरहाको गोलबजारसम्म लगेर बिक्री गर्ने गरिएको छ ।

‘उत्पादन धेरै भएपछि बेच्न धनकुटासम्म पठायौँ,’ कार्कीले भने, ‘केन्द्रले प्रतिकिलो रु तीन राखेर कृषकलाई दिँदा कृषकले मुश्किलले किलोको रु ३० सम्म पाउँछन्।’

उत्पादन धेरै भए पनि यहाँबाट किनेर लैजाने व्यापारीले गोलभेँडाको उचित मूल्य नदिँदा कृषक मारमा परेका छन्।

नगरपालिकाकै वडा नम्बर ३ र ४ मा रहेको बजारमा गोलभेँडा प्रतिकिलो ६० मा बिक्री भइरहेको छ । ‘व्यापारीले हामीलाई ३० भन्दा बढी दिँदैनन्,’ उनले भने, ‘कृषकले लगानी अनुसारको मूल्य पाएका छैनन्।’

वडाध्यक्ष हायुका अनुसार वडाको गोठडाँडा, काफलडाँडा, खोल्मेचौर, लप्से, आम्बोटेलगायत गाउँमा गोलभेँडा पर्याप्त मात्रामा उत्पादन भएको छ।

यसअघि अदुवा, काउली र डल्ले खुर्सानी उत्पादन गरेका कृषकले दुई वर्षयता गोलभेँडा खेतीलाई प्राथमिकता दिँदै आएका छन्।

उत्पादन बढ्दै गएपनि कृषकले बजारसम्म गोलभेँडा पुर्‍याउन सकेका छैनन् । वडाले कृषकको समस्यालाई नगरपालिकासामु राखेको वडाध्यक्ष हायुले बताए।

बजारमा भारतबाट आयात गरिएको गोलभेँडा सस्तोमा बिक्री भएका कारण स्थानीय उत्पादनले उचित मूल्य पाउन नसकेको हो। स्थानीय उत्पादन बजारीकरण गर्न तथा भण्डारण गर्न नगरपालिकाले सहयोग गर्नुपर्ने कृषकको माग छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *