काठमाडौं । हामीले कमाएको पैसा सुरक्षित होस् अनि अप्ठ्यारोमा काम लागोस् भनेर बैंकमा जम्मा गर्ने गर्छौं । कमाएको बेला थोरै बचत गर्न सके भविष्यको संकट टार्न सजिलो हुन्छ भनेर केही न केही बचत गर्ने मान्छेको बानी हुन्छ ।
साथमा पैसा हुँदा फजुल खर्च हुने र असुरक्षित हुने डरले मान्छेले प्राय बैंकमा पैसा जम्मा गर्ने गर्छन् । तर बैंक असुरक्षित रहेको घटना बारम्बार बाहिरीरहँदा भने बैंकप्राथी आम मान्छेको विश्वास गुम्दै छ ।
गएको सोमबारको घटना हो । महोत्तरीस्थित एनएमबि बैंकको एक शाखामा दिनदहाडै फिल्मी शैलीमा बैंक लुटियो । मध्यान्ह साढे १२ बजेतिर सो बैंकमा एकाएक ४ जना हतियारधारीहरु छिरे । पेस्तोलसहित बैंक छिरेका उनीहरुले कर्मचारीहरुलाई पेस्तोल देखाएर थर्काए । कोहीले कर्मचारीलाई थर्काउन लागे त केही पैसा पोको पार्न थाले । यसरी ग्राहक र बैंक कर्मचारीलाई धम्कि दिँदै दिनदहाडै ४ जनाले ३५ लाख रुपैयाँ लुटियो । उनीहरुलाई न कसैले अवरोध गर्न सके, न प्रहरीलाई खबर नै गर्न सके । निरिह भएर हेरिरहे ।
यस अघि २०७८ असोजमा पनि पनि यसैगरी बैंक लुटिएको थियो । सिटिजन्स बैंकको मोरङको कर्सिया शाखाबाट दिनदहाडै २२ लाख रुपैयाँ लुटपाट भएको थियो । ६ जनाको समूहले साढे ३ बजेतिर बैंकमा छिरेर लुटपाट गरेको थियो ।
यी दुई घटनाले बैंक असुरक्षित छ भनेर बेलाबेला सबैलाई झस्काउने गरेको छ ।
यति मात्र होइन ग्राहकको पैसा हिनामिना गरेको आरोपमा बैंककै कर्मचारी पक्राउ पर्नु अर्को अविश्वासको पाटो हो । यसो हुँदा पछिल्लो समय बैंकप्रति नागरिकको विश्वास गुम्न थालेको छ ।
कसरी हुन्छ खाताबाटै गायव ?
घटना नम्बर १:
आफूलाई समयसापेक्ष, बलियो र भरपर्दो भनेर चिनाउने एभरेष्ट बैंककै खाताबाट बचतकर्ताहरुको एक करोड ५० लाख २३ हजार रुपैयाँभन्दा बढी गायव भयो । यो घटना हो बैंककै इटहरी शाखाको । बैंकको उक्त शाखाबाट ३३ जना बचतकर्ताको खाताबाटै पैसा चोरी भएपछि उक्त घटनाले चौतर्फी चर्चा पायो ।
बचतकर्ताको पैसा चोरी गरेको आरोपमा बैंककै प्रबन्धकसहित ९ कर्मचारी पक्राउ परे । बैंकको रकम चोर्ने मुख्य योजनाकार एभरेष्ट बैंक उदयपुरका शाखाका अपरेशन मेनेजर निरज प्रधान रहेको प्रहरी अनुसन्धानबाट खुल्यो । प्रधान पक्राउ परेसँगै घटनामा अन्य कर्मचारीको पनि संलग्नता रहेको रहस्य खुलेको थियो ।
जुवाको लतमा फसेका प्रधानले हार्न थालेपछि बैंकबाट ठगि गर्न थालेको खुलेको थियो । सो शाखाबाट पाँच महिनादेखि ग्राहकको बचत हराउन थालेको थियो । उनीहरुले कनेक्ट आईपीएस र नक्कली चेकबुकको सहायताबाट करौडौं रुपैयाँ चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । उक्त घटनापछि बैंकबाट पैसा निकाल्ने ग्राहकको संख्या समेत बढेको समाचार बाहिरिएको थियो ।
घटना नम्बर २.
उक्त घटना सेलाउन नपाउँदै फेरि अर्को घटना बाहिरियो । ‘माछापुच्छ्रे बैंकको खाताबाटै ग्राहक ९ लाख गायब’ भन्ने शिर्षकबाट सञ्चारमाध्यमभरि समाचार छरपस्ट भए । यो घटना हो, माछापुच्छ्रे बैंकको रौतहटस्थित चन्द्रपुर शाखाको । सो शाखाबाट एक जना ग्राहकको खाताबाट ९ लाख रुपैयाँ हराएपछि चौतर्फी चर्चा पाएको थियो । चेक साट्न जाँदा आफ्नो पैसा हराएको थाहा पाएपछि बचतकर्ता छाँगाबाट खसेजस्तै भएका थिए । यो जेठ पहिलो सातातिरको घटना हो ।
यद्यपि बैंकले ग्राहकको पैसा उनकै मोबाइल बैकिङबाट हराएको बताएको छ । बैंकले बैंकको सिस्टममा कुनै समस्या नदेखिएको भन्दै ग्राहकको पैसा स्वयम् उनकै मोबाइल बैंकिङ एपमार्फत विभिन्न बैंक तथा खल्ती एपमा ट्रान्सफर गरिएको देखिएको बैंकले जनाएको छ ।
बैंकले यसबारे थप अनुसन्धान गरी आवश्यक कारबाही गर्न प्रहरीमा अनुरोधसमेत गरिसकेको जनाएको छ ।
घटना नम्बर-३
आफूलाई बैंक पनि साथि पनि भनेर चिनाउने एनआइसी एसिया बैंकबाट पनि ग्राहकको लाखौँ रुपैयाँ चोरी भएको थियो । त्यो पनि कर्मचारीकै संलग्नतामा । काठमाडौं महानगरपाकिका-१० को कार्यालयबाट ग्राहकको १२ लाख ४५ हजार चोरी भएपछि बैंकको नगद संकलक प्रदीप खत्रीसहितका चार जना पक्राउ परे । यो घटना २०७८ पुस १८ गतेको हो ।
उक्त घटनामा बैंकको काठमाडौं महानगरपाकिका-१० को कार्यालयबाट ग्राहकको १२ लाख ४५ हजार रुपैयाँ र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट तीन लाख पचासी हजार गरी १६ लाख ३० हजार बैंक दाखिला गर्न जाने क्रममा लुटपाट भएको भनिएको थियो । प्रहरी अनुसन्धानमा खत्रीको मिलेमतोमा उक्त नगद चोरी गरी भागबण्डा गरेको फेला परेको थियो ।
घटना नम्बर -४
सरकारी स्वामित्वको कृषि विकास बैंकमा समेत कर्मचारीकै मिलेमतोमा चोरीको थुप्रै घटना घटेका छन् । २०७६ असोजमा बैंकका कर्मचारीकै मिलेमतोमा बैंकको चार करोड ७३ लाख ९६ हजार रुपैयाँ चोरी भयो । बैंकका कर्मचारीले बाहिरका चोरलाई युजर र पासवर्ड उपलब्ध गराएर चोरीको घटना गराएका थिए। उक्त बैंकमा २०७१, २०७४ र २०७६ मा गरी ४३ करोड रुपैयाँ चोरी भएको छ ।
यी त प्रतिनिधि घटना मात्र हुन् । यस्ता कयौं घटनाहरु घटेका छन् । यस्तो घटनामा बैंकको उच्च पदस्थ व्यक्तिहरुकै समेत संलग्नता हुने गरेको छ । एटीएम, चेकबुक, खाता खोल्न प्रयोग गरिने कागजात, २ हजारभन्दा बढी व्यक्तिका नागरिकताको फोटोकपी, ६ सयभन्दा बढी व्यक्तिका बैंक खाताको हस्ताक्षर लगायत किर्ते गरी बैंककै कर्मचारीबाट बचतकर्ताको रकम चोरिने गरेका छन् । छिटै कमाउने लोभका कारण बैंकको कर्मचारीले बेलाबेलामा बैंकको बदनाम गराउने गरेका छन् ।
यी त बदमास कर्मचारीद्वारा घटित घटनाहरु हुन् । बैंक यस अलावा अन्य कुराहरुबाट पनि असुरक्षित छन् । जबजब मान्छे आर्थिक मन्दीमा फस्छन् तब उनीहरुको निशानामा बैंक पर्ने गरेको छ । बैंकको एटिएम फुटाएर रकम चोरी हुने, मोबाइल बैंकिङ ह्याक गरी चोरी हुने कुरा नौलो हुने छाडिसक्यो । यसो हुँदै बैंकप्रति सर्वसाधारणको विश्वास गुम्दै गएको छ ।
बैंकले नक्कली कागजातमा कर्जा लगानीदेखि ग्राहकको रकम ठगीसम्म गर्ने गरेको घाटाहरु बेला बेलामा सार्वजनिक हुने गरेको छ ।
डिजिटलाइजेसनले बैंकिङ सुरक्षालाई झनै चुनौती थपिदिएको छ । डिजिटलमाध्यम प्रयोग गरी बैंकिङ क्षेत्रमा ह्याकिङका घटनाहरु बढिरहेका छन् । स्वीफ्ट ह्याक, एटीएम ह्याकलगायत बैंकका ग्राहकले डिजिटल बैंकिङमा प्रयोग गर्ने व्यक्तिगत विवरणहरु ह्याक गरी डिजिटल कारोबारमा ह्याकरहरूले सजिलै आक्रमण गरिरहेका हुन्छन् । जसको कारण डिजिटल प्रविधिको विकास र प्रयोग बढेसँगै चुनौती पनि थपिएको छ ।
घटनामा प्रविधिको प्रयोग बढ्दो छ । आफ्नो खातामा भएको पैसा कतिबेला खाताबाटै गायब हुन्छ ग्राहकलाई नै थाहा हुँदैन । जब मोबाइलमा पैसा काटिएको मेसेज आउँछ अनिमात्र झस्किन्छन् मान्छे ।
कसरी सुरक्षित रहने ?
पछिल्ला दिनहरुमा बढ्दै गएको बैंकिङ असुरक्षाका घटनाहरुले वास्तावमै बचतकर्ता तथा बैंक दुबैलाई चिन्तित बनाएको छ । यस्ता घटनाबाट जोगिन यी बुँदागत विधि अपनाउनुपर्ने
१. ग्राहकले आफ्नो व्यक्तिगत सूचनाहरु (नाम, ठेगाना, फोन नम्बर, मोबाइल नम्बर, जन्म मिति, खाता नम्बर, कार्ड नम्बर, अन्तिम मिति, पिन CVV पासवर्ड, युजरनेम आदि) सुरक्षित र गोप्य राख्नुपर्ने हुन्छ ।
२. मोबाइल, वाट्सएप, मेसेन्जरबाट कसैले व्यक्तिगत विवरण मागेमा आधिकारिक व्यक्ति बाहेक अरुलाई नदिने ।
३. मोबाइललाई राम्रोसँग लक गरेर राख्ने ।
३. आफ्नो पासवर्ड तथा एटिएमको पिन बेला बेलामा परिवर्तन गरिरहनुपर्छ ।
४. बैंकले पनि यस्ता घटनालाई मध्यनजर गर्दै बचत खाताको बचतलाई सुरक्षित बनाउन सफ्टवेयर पासवर्डहरु आधिकारिक कर्मचारी ब्वाहे कसैले नपाउने गरी सुरक्षित राख्ने
५. यस्ता सम्भावित जोखिमबाट बच्न बैंकले सचेतना र जनचेतनाको काम गरिराख्ने ।






