काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आजदेखि १ अर्ब रुपैयाँ बराबरको १० वर्ष अवधिको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ११ प्रतिशत ब्याजदर रहेको प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित दरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।
बैंकले निष्काशन गरेको यो ऋणपत्र ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ नामको रहेको छ ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ३ लाख ८० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्।
सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा छिटोमा जेठ १९ गते आवेदन दिन सकिनेछ उक्त अवधिमा बिक्री नभएमा ढिलोमा जेठ ३० गतेसम्म बिक्री खुला रहनेछ ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धकसँगै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर सफ्टवेयर र एपसमेत आवेदनका लागि प्रयोग गर्न सकिने व्यवस्था छ ।
बैंकले ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले मध्यम कर्जा जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । बैंकले ऋणपत्रबाट आर्जिन ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गर्ने जानकारी दिएको छ ।




