रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज बिहान भएको जिप दुर्घटनामा परी पाँच जना यात्रुको मृत्यु भएको छ । मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा २२ दिनकी सुत्केरी र उनका नवजात शिशुसमेत परेका छन् । दुर्घटनामा ३५ वर्षका चालक दीपक बाँठा मगर घाइते भएका छन् ।
दुर्घटनामा सानीभेरी गाउँपालिका ५ का ४८ वर्षीय देउचन खत्री, सोही वडाका ७० वर्षीय कर्णबहादुर बाँठा, सोही वडाकी २३ वर्षीया शीतल कुसारीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले बताए ।
त्यस्तै बाँफिकोट गाउँपालिका ८ की २२ वर्षीया रेखा खनाल केसी र उनका २२ दिनका छोरा रोशन केसीको पनि दुर्घटनामा मृत्यु भएको छ ।
जिल्ला अस्पताल सल्ले पुर्याएलगतै चिकित्सकले पाँचै जनालाई मृत घोषणा गरेका थिए । दुर्घटनामा १० जना घाइते भएको थिए । उनीहरूमध्ये ४ जनाको नेपालगञ्ज नरसिंह कलेजमा उपचार भइरहेको छ । ४ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
बाँफिकोट गाउँपालिका ८ मा लु १ ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो । सानीभेरी गाउँपालिका–५ मेलचौरबाट खलंगातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको थियो । जिप सडकदेखि झन्डै चार सय मिटर तल खसेको थियो ।







