भन्सार विभागले माघ मसान्तसम्म ७.४ अर्ब बराबरको डिजिटल माध्यमबाट राजस्व संकलन गरेको छ । सेवा सुरु भएको एक महिनामै विभागमा इ-पेमेन्टबाट उक्त संख्यामा राजस्व उठेको नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले जनाएको छ ।
गत पुस १ देखि सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयबाट विद्युतीय माध्यमबाट भुक्तानी सुरु भएको थियो। माघ १२ मा अर्थमन्त्री जनार्दन शर्माले देशभरका भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानीको उद्घाटन गरेका थिए ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गत भन्सार विभागको भुक्तानी संकलनलाई रियल टाईम तथा नन् रियल टाईम दुवै माध्यमबाट संकलन गरिने व्यवस्था हुँदा माघ मसान्तसम्म रिटेल पेमेन्ट स्वीच मार्फत रियल टाईममा ३.४ अर्ब र एनसीएचएल–आईपिएस मार्फत नन् रियल टाईममा ४ अर्ब बराबरको संकलन भएको एनसीएचएलले जनाएको छ।
भुक्तानी गर्नका निम्ती भन्सार एजेन्ट वा आयातकर्ताले भन्सारको अनलाइन प्रणालीबाट रजिष्ट्रेशन वर्ष, रजिष्ट्रेशन नम्बर, भन्सार विभागको कोड तथा प्रज्ञापनपत्र नं. प्राप्त गरी उपलब्ध कुनैपनि च्यानलमा सो विवरण दाखिलागरी अनलाइन भुक्तानी गर्न सक्दछन् । यसरी भुक्तानी गर्दा कारोबार सीमा भने छनोट गरिएको प्रणाली अनुसारको हुन्छ ।
भन्सार एजेन्ट तथा आयातकर्ताले सोझै आफ्नो बैंक खाताबाट कनेक्ट आइपिएस, कर्पोरेटपे तथा बैंक वित्तीय संस्थाको शाखाबाट भुक्तानी गर्न सक्दछन् । यो सेवा एनसिएचएलका विभिन्न सदस्य बैंक वित्तीय संस्थाका मोबाइल/ईन्टरनेट बैंकिङ्ग तथा सदस्य भुक्तानी सेवा प्रदायक (वालेट) हरुमा पनि चाढै नै उपलब्ध हुनेछ । भन्सार विभागका सम्पूर्ण भुक्तानीहरु पहिले नगद वा चेक मार्फत हुने गर्थियाे ।
देशभरीका भन्सार नाकाहरुबाट आयात कर, भ्याट, अन्तः शुल्क लगायतका विभिन्न करहरु संकलन हुने कुल राजस्वको ४४ प्रतब ओगटेको छ भने सरकारी करको हकमा ५० प्रतिशत योगदान गरेको छ ।
आ.व. २०७८/७९ को माघ मसान्त सम्म सरकारी राजस्वको अनलाइन संकलन १३.२ अर्ब भएकोमा भन्सार विभागको एक महिनामै ५६ प्रतिशत योगदान रहेको छ । सरकारले गत आ.व. २०७७/७८ मा कुल राजस्व संकलन मध्ये १० प्रतिशत अनलाइन माध्यबाट संकलन गरेको थियो । आउँदो समयमा सरकारी राजस्व संकलन अनलाइन माध्यमबाट २–३ गुणाले वृद्धि हुने अपेक्षा गरिएको छ जनाएकाे छ ।






