राज्यविरुद्धको अपराध मुद्दाको तयारी गर्न प्रहरीलाई सरकारी वकिलको निर्देशन

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शरणार्थीका नाममा ठगी धन्दामा संलग्न अभियुक्तविरुद्ध राज्यविरुद्धको अपराधमा पनि मुद्दा चलाउने गरी तयारी गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को भाग २ परिच्छेद १ को दफा ५१ प्रतिकूल हुने गतिविधिमा संलग्न रहेकाले उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधमा पनि मुद्दा चल्ने सरकारी वकिल कार्यालयको निष्कर्ष छ । प्रहरीले अहिले संगठित अपराध र ठगी कसुरअन्तर्गत म्याद थप गरी उनीहरूमाथि अनुसन्धान अघि बढाइरहेको छ ।

मुलुकी अपराध संहिता, २०७४ को भाग २ परिच्छेद १ को दफा ५१ को उपदफा १ मा राष्ट्रहित प्रतिकूल हुने कुनै काम गर्नु वा गराउनु बन्देज गरिएको छ । सोही दफाको उपदफा २ (क)मा भनिएको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छविउपर अपमान हुने, होच्याउने वा घृणा वा द्वैष फैलाउने कार्य राज्यविरुद्धको अपराध हुन् ।’

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दा संगठित अपराध र ठगी कसुर मात्र नभई राज्यविरुद्धको पनि अपराध रहेको सरकारी वकिल कार्यालयको निष्कर्ष छ । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ अभियुक्तविरुद्धको बयान चलिरहेको छ । उनीहरूविरुद्ध अनुसन्धान जारी छ । हालसम्मको बयान तथा प्राप्त प्रमाण सरसर्ती हेर्दा उनीहरूले राज्यविरुद्धकोे अपराध पनि गरेजस्तो देखिन्छ । त्यसैले उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधमा पनि मुद्दा चलाउने गरी तयारी गर्न प्रहरीलाई भनेका छौँ,’ जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले भने ।

यो ठगी प्रकरणमा एक सय ६ पीडितका २० वटा उजुरी प्रहरीमा दर्ता छ । आफूहरूबाट २३ करोड २५ लाख रकम असुल गरिएको जाहेरीमा उल्लेख छ । राज्यविरुद्धको कसुरमा प्रमाणित भए पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । कसुर गर्दा बखत रकम लेनदेन गरेको प्रमाणित भए सबै रकम राज्यले जफत गर्नेछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *