परीक्षार्थीका डाटा सुरक्षित नराख्ने लाेकसेवा निकायमा बसेकालाई कारवाही गरियोस्ः सांसद निशा डाँगी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले लोकसेवा आयोगका विभिन्न पदमा आवेदन दिने परिक्षार्थीका तथ्यांक सुरक्षित नराख्ने अधिकारीहरूलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा धारणा राख्दै उनले लोकसेवा आयोगमा विद्युतीय माध्यमबाट परिक्षार्थीले आफ्नो व्यक्तिगत विवरण बुझाएको तर त्यो सुरक्षित नराखेर आयोगका अधिकारीले गैरजिम्मेवारीपन प्रस्तुत गरेको बताइन् ।

‘२०७९ सालको मंसिर, पुस र माघ महिनामा लोकसेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको डाटा हराएको छ । डाटा पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भइसक्दा पनि डाटा रिकभर नभएपछि लाजमर्दो तरिकाले आयोगले पुनः दरखास्त आह्वान गरेको छ’, सांसद डाँगीले भनिन्’, ‘विश्वमा प्रविधिले यस्तो फड्को मारिरहँदा हाम्रो सरकारले चार लाख आवेदकको डाटा सुरक्षित राख्न सकिरहेको छैन । डाटा रिकभर हुँदैन भने जिम्मेवार निकायमा बसेकालाई कारबाही गरियोस् ।’

परिक्षार्थीका फारामका विवरण सुरक्षित राख्नुपर्नेमा त्यसो नगरेर अधिकारीहरूले लापरबाही गरेको सांसद डाँगीको भनाइ छ । आयोगले परिक्षार्थीहरूका तथ्यांक हराएको भन्दै पुनः फाराम भर्नका लागि सूचना जारी गरेको विषयलाई सांसदले प्रतिनिधिसभा बैठकमा विषय उठाएकी हुन् । उक्त प्रकरणले पनि युवाहरूलाई राज्यप्रति निराश बनाएको उनको भनाइ थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *