प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाडौं । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जरपछिको एकीकृत कारोबार प्रयोजनार्थ भोलि वैशाख २६ गतेदेखि लागू हुने गरी यी ३ कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।

मर्जरपछि यी तीनै कम्पनीले ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत जीवन बीमा व्यवसाय सुरु गर्दैछन्।

यी तीनै कम्पनी १:१:१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। यसर्थ युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सको १०० कित्ता सेयर हुने सेयरधनीहरूले हिमालयन लाइफ इन्स्योरेन्सको पनि १०० कित्ता नै सेयर पाउनेछन्।

गत वैशाख २६ गतेको विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो। यी तीन वटै कम्पनीले एक आपसमा गाभिन बीमा प्राधिकरणले वैशाख १३ गते, नेपाल धितोपत्र बोर्डले वैशाख १९ तथा कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते अन्तिम स्वीकृति दिएका हुन्।

मर्जरपछि बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइम लाइफको कार्यालय रहेको स्थानमा रहने कम्पनीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *