


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेश र विदेशी भन्नेबित्तिकै राम्रो र नेपाली नराम्रो भन्ने मानसिकता त्यागेर मात्र राष्ट्रिय अर्थतन्त्रको निर्माण र समृद्ध नेपाल सम्भव हुने बताए । ‘बाह्रखरी मिडिया’ले गोकर्ण रिसोर्टमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशका अनुभव, शिक्षा र दृष्टान्तलाई बढी महत्व दिएर नेपाली विशेषता र मौलिकता नभुल्न सहभागीलाई उनले आग्रह गरे ।
प्रधानमन्त्री दाहालले भने, “हामीले विश्व पढ्नैपर्छ, विश्वका अनुभव र दृष्टान्त पनि पढ्नुपर्छ । तर त्यसभन्दा बढी नेपालको इतिहास पढ्नुपर्दछ । हाम्रो अर्थराजनीतिक चरित्र, हाम्रो विशेषता र मौलिकता पढ्नुपर्छ । हामीकहाँ विदेशी भन्नेबित्तिकै राम्रो, नेपाली चाहिँ नराम्रो भन्ने मानसिकता पनि देखिन्छ । यसले राष्ट्रिय अर्थतन्त्र निर्माण, समृद्धि र स्वाधीनतालाई सहयोग गर्दैन । विश्वका मोडेल र अनुभव पढ्दै गर्दा हामीले हाम्रो आफ्नोपन पढौँ र सोहीअनुरूप नीति तय गरौँ ।”
अर्थनीति र अर्थतन्त्रबारे विश्वमा आआफ्नै मोडेल रहेको उल्लेख गर्दै उनले भने– “नवउदारवाद र समाजवादी अर्थतन्त्रका आआफ्नै चरित्र र विशेषता छन् । तर त्यसलाई हुबहु अवलम्बन गरेर हाम्रो अर्थनीति बनाउन सकिँदैन ।” प्रधानमन्त्री दाहालले हाम्रो अर्थराजनीति, उत्पादन पद्धति अरूको भन्दा मौलिक रहेको उल्लेख गर्दै यसमा धेरै व्यक्ति अल्मलिएको बताए । हाम्रो संविधानले निजी, साझेदारी र सहकारीको तीनखम्बे अर्थनीति अवलम्बन गरेकाले विश्वका अरू मोडेलसँग हुबहु नमिल्ने उनले बताए ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रभित्र राष्ट्र निर्माण र समृद्धिको मार्गचित्र स्पष्टतापूर्वक राखिएको प्रधानमन्त्री दाहालले बताए । उनले भने, “हामीले तीन तहको सरकारको अवधारणा अभ्यास गरिरहेका छौँ । यसभित्र निकै ठूलो अर्थ छ । हामीले केन्द्रिकृत मानसिकता भत्काएर अवसर र विकासलाई तलसम्म लैजाने सङ्कल्प गरेका छौँ । तर हाम्रो मानसिकता चाहेजस्तो बदलिएको छैन । हाम्रो कर्मचारीतन्त्र, सुरक्षा संयन्त्र पुरानो सोचबाट माथि उठ्न सकेको देखिएको छैन । सङ्घीयता र परिवर्तनको आत्मसातीकरण गर्न सकेको देखिँदैन । यसमा अझै मेहनत गर्न आवश्यक छ ।”

अर्थ सन्जाल