नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले नियमन उल्लंघन गर्ने विभिन्न ९ बैंकलाई जरिवानासहित कारबाही गरेको हो ।
यसरी कारबाहीमा पर्ने बैंकहरुमा तल्कालिन नेपाल क्रेडिट एण्ड कमर्स बैंक (हाल कुमारी बैंक लिमिटेड), कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, तत्कालिन सेञ्चुरी कमर्सियल बैंक (प्राप्ती पश्चात हाल प्रभु बैंक), नेपाल बैंक लिमिटेड, नबिल बैंक, ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक र हिमालयन बैंक छन् ।
राष्ट्रिय वाणिज्य बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बधि ऐन र निर्देशनको उल्लङ्घन गरेको भन्दै राष्ट्र बैंकले १० लाख रुपैयाँ जरिवाना गराएको छ ।
त्यसैगरी, २०७९ साउन र भदौमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै तत्कालिन सेञ्चुरी कमर्सियल बैंकलाई २ करोड ८४ लाख ७३२ दशमलव ८६ रुपैयाँ र नेपाल बैंक लिमिटेडलाई १८ लाख ५९ हजार ७५२ दशमलव ३८ रुपैयाँ जरिवाना गराएको छ ।
त्यस्तै, राष्ट्र बैंकले २०७९ साउन, भदौ र असोज महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै नबिल बैंकलाई ६ करोड ४६ लाख ४५ हजार ३२ दशमलव ७४ रुपैयाँ जरिवाना गराएको छ, भने ग्लोबल आईएमई बैंकलाई २०७९ भदौ र असोजमा कर्जा/निक्षेप अनुपात कायम नगरेको भन्दै ४ करोड ४२ लाख ४६ हजार ८३१ दशमलव ७४ रुपैयाँ जरिवाना गराएको छ ।
यसरी कर्जा/निक्षेप अनुपात कायम नगरेर जरिवानामा पर्ने अन्य बैंकमा कृषि विकास बैंक र हिमालयन बैंक पनि परेका छन्। राष्ट्र बैंकले कृषि विकास बैंकलाई ६९ लाख ५८ हजार ८३१ दशमलव ८९ रुपैयाँ र हिमालयन बैंकलाई ७१ लाख ७२ हजार ९५९ दशमलव ३६ रुपैयाँ जरिवाना गराएको छ ।
तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले सहलियतपुर्ण कर्जा सम्बन्धि एकिकृत कार्यविधि २०७५ को २६ (क) विपरीत एकै समूहलाई एकभन्दा बढी सहुलियतपुर्ण कर्जा प्रवाह गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोवसानी व्यवस्था नगरेको र कतिपय कर्जाहरुमा राष्ट्र बैंकको निर्देशन विपरित हुने गरी कर्जाको प्रिमियम दरमा परिर्वतन गरेको भन्दै तत्कालिन प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ । अख्तियारी भन्दा बाहिर गई कर्जा स्वीकृत गरेकोले तत्कालीन एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठलाई पाँच लाख रुपैयाँ जरिवाना समेत गराएको छ।
तत्कालीन कुमारी बैंक लिमिटेडलाई सहुलियतपुर्ण कर्जा प्रवाह गर्दा कर्जाको औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको, कतिपय मुद्दती निक्षेपमा प्रकाशित ब्याजदरभन्दा बढी व्याज प्रदान गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था एवं जोखिम भार प्रदान नगरेको भन्दै बैंकको तत्कालिन प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।




