एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ । एकदिवसीयमा नेपालको यो सर्वाधिक स्कोर हो । यसअघि पीएनजीविरुद्ध लीग टुमा बनाएको २९७ नेपालको सर्वाधिक रन थियो ।
नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो । ओमानलाई चुनौतीपूर्ण लक्ष्य दिने क्रममा सोमपाल कामीले पनि अर्धशतकीय पारी खेले ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल खाता नखोल्दै दुवै ओपनरलाई गुमाउँदा दबाबमा आएको थियो । त्यसपछि भीम सार्की, रोहित, पौडेल र आरिफ शेखले पारी सम्हाल्ने प्रयास गरे । सार्कीले ३३, पौडेलले २३ र शेखले २९ रन बनाए ।
तर कुशल मल्लले ५९ बलमा शतक प्रहार गरेपछि नेपाल चुनौतीपूर्ण रन बनाउन सफल भएको हो । मल्लले ६४ बलमा १०८ रन बनाए । यस क्रममा उनले ९ चौका र १० छक्का प्रहार गरेका हुन् ।
सोमपालले ४८ बलमा नटआउट ६३ रन बनाए । पुछारमा आएका करण केसीले पनि आक्रामक ब्याटिङ गर्दै १५ बलमा २९ रन बनाए ।




