


एनआईसी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७९/८० को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ।
यस बैंकले आ.व. २०७९/८० को तेस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७७.७ अर्ब पुर्याउन सफल भएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३१६.५५ अर्ब पुर्याउन बैंक सफल भएको छ । बैंकले यस त्रैमास सम्ममा खुद मुनाफातर्फ रू. ४.०१ अर्ब आर्जन गर्न सफल भएको छ, जुन वार्षिक विन्दुगत आधारमा ११ प्रतिशतको वृद्धि हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.६१ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १४.२७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा १३.१० प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ रहेको छ।
यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल (RoE) २०.१७ प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रतिसेयर आम्दानी रू. ४६.७६ आर्जन गर्न बैंक सफल भएको छ । स्व–पूँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी २१ वटै बाणिज्य बैंकहरूमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई तेस्रो त्रैमाससम्ममा ०.८५ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ ।
बैंकले आ.व. २०७९/८० को तेस्रो त्रैमाससम्ममा ४.८ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३७ लाखभन्दा बढी ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८७ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।

अर्थ सन्जाल