नेष्डो समृद्ध लघुवित्तको लाभांशमा राष्ट्र बैंकको कैची, निर्देशन कार्यान्वयन नगर्ने संस्थाको निर्णय

नेपाल राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्तको लाभांशमा कैची चलाएको छ । राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्तले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्ताव गरेको लाभांशमा भारी कटौती गरेको हो।

राष्ट्र बैंकले संस्थालाई १७.९३४२ प्रतिशत लाभांश मात्र वितरण गर्न निर्देशन दिएको छ । संस्थाले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट ७३.६८ प्रतिशतले हुन आउने १८ करोड ७८ लाख ९४ हजार ७३६.८४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

प्रस्तावित लाभांशमा ५० प्रतिशतले हुन आउने १२ करोड ७५ लाख रुपैयाँबराबरको बोनस सेयर, २० प्रतिशतले हुन आउने ५ करोड १० लाख रुपैयाँबराबरको नगद लाभांश थिए। कर प्रयोजनार्थ ३.६८ प्रतिशतले हुन आउने ९३ लाख ९४ हजार ७३६.८४ रुपैयाँबराबरको रकम संस्थाले छुट्याएको थियो।

उक्त प्रस्ताव स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएकोमा राष्ट्र बैंकले १७.९३४२ प्रतिशत मात्र लाभांश वितरण गर्नको लागि स्वीकृति प्रदान गरेको हो ।

राष्ट्र बैंकले लाभांशमा घटाएपछि नेष्डो समृद्ध लघुवित्त रुष्ट बनेको छ। कम्पनीको संचालक समितिले भने राष्ट्र बैंकको यो निर्देशन कार्यान्वयन गर्न नसकिने निर्णय गरेको छ ।

राष्ट्र बैंकको लाभांश घटाउने निर्देशन २०७९/११/१० गते जारी शंसोधित निर्देशनको व्यवस्था स्पष्ट बाझिएको, नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त एउटै प्रकृतीका संस्थाबीच एउटै आर्थिक वर्षको लाभांश स्वीकृती दिँदा समानता नभएको र नेपाल राष्ट्र वैंकवाट स्वीकृत लाभांशको जानकारीले सेयरधनिले पाउने प्रतिफलको अधिकार समेत हनन हुन पुगेको भन्दै राष्ट्र बैंकको उक्त निर्णय एवम् जानकारीलाई तुरुन्त कार्यान्वयन प्रक्रिया अगाडी बढाउन नसकिने निर्णय कम्पनीले गरेको छ ।

राष्ट्र बैंकको निर्देशनले संस्थागत वित्तीय अवस्थामा समेत प्रभाव पर्ने देखिएको र लाभांश वितरण सम्बन्धमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा भएको व्यवस्थाको समेत प्रतिकूल भएको संस्थाले जनाएको छ।

कम्पनीले राष्ट्र बैंकबाट प्राप्त भएको पत्र नेपाल स्टक एक्चेन्ज, नेपाल धितोपत्र वोर्ड लगायत सरोकारवाला निकायमा जानकारी गराउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *