चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन कम्पनीले सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबामा सुरुङ मार्ग निर्माणको जिम्मा पाएको छ ।
सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका अनुसार सुरुङ मार्ग निर्माणका लागि आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्रमा ९ सहभागी कम्पनीमध्ये सबैभन्दा कम प्रस्ताव गरेकोे चिनियाँ कम्पनीलाई उक्त निर्माणको जिम्मा दिइएको हो । सडक विभागले जेठ ९ गते बोलपत्र आह्वान गरेको थियो ।
गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख झाका अनुसार सो चिनियाँ कम्पनीले सात अर्ब ३४ करोड २१ लाख चार हजार ७३४ ठेक्का पाएकोमा अबको दुई हप्ताभित्र सो कम्पनीसँग सम्झौता भई निर्माण कार्य अगाडि बढ्ने बताइएको छ ।
सम्झौता भएको ९ महिनाभित्र निर्माण कम्पनीले सुरुङ मार्गको डिजाइन तयार गरी सडक विभागलाई बुझाउनुपर्ने छ । निर्माण कम्पनीले पाँच वर्षभित्र सुरुङ मार्ग निर्माण गरी नेपाललाई हस्तान्तरण गर्नुपर्ने छ ।
स्वदेशी लगानीमा बन्ने यो सुरुङ मार्गका लागि अर्थ मन्त्रालयले २०७६ मङ्सिरमा १० अर्ब १५ करोड रुपियाँको बजेट छुट्टयाई सकेको छ।






