

सामुदायिक लघुवित्त वित्तीय संस्थाको लाभांशमा नेपाल राष्ट्र बैंकले कैची चलाएको छ । संस्था आर्थिक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको लाभांश घटाउन राष्ट्र बैंकले निर्देशन दिएको हो।
संस्थाको सञ्चालक समितिको चैत २५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट यसअघि प्रस्तावित लाभांश घटाउँदै अब चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) कुल १५ प्रतिशत लाभांश मात्रै वितरण गर्ने निर्णय गरेको हो ।
यसअघि गत चैत ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र ११.०५२६३ प्रतिशत नगद लाभांश कुल २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त प्रस्तावित लाभांश संस्थाले स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गरेको थियो । तर, राष्ट्र बैंकले गत फागुन १० जारी गरिएको निर्देशनको अधिनमा रही लाभांश प्रस्ताव गर्न निर्देशन दिएको थियो।
अब प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

अर्थ सन्जाल