सरकार, निजी र सहकारी क्षेत्रबीच सहकार्य र साझेदारी आवश्यक छ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं ।  उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र सहकारीबीच सहकार्यको खाँचो रहेको बताएका छन् । ढकालले भने, ‘निजी क्षेत्रले सहकारीसँग सहकार्य गरेर अगाडि बढ्न आवश्यक पनि छ, उद्योग वाणिज्य महासंघले कृषि उद्यम केन्द्र बनाएर पनि काम गरिरहेको छ, त्यसमा सयभन्दा बढी सहकारीहरु संलग्न छन्, यसलाई अझै प्रभावकारी ढंगले काम गर्न सकिन्छ । सहकारी र निजी क्षेत्र मिलेर जाँदा आर्थिक गतिविधि बढाउन सकिन्छ ।’

ढकालले हाल बाधा अड्चनका रुपमा रहेका ऐन नियमहरुलाई फुकुवा गरेर लगानीमा पनि सहकार्य गरेर काम गर्न सकिने बताए । सहकारी क्षेत्रले रोजगारी सिर्जना, वित्तीय पुहँच, वित्तीय साक्षरता, बैंक तथा वित्तीय क्षेत्रमा तरलता सहज गर्न र उत्पादन लगायत अर्थतन्त्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।

सहकारी क्षेत्रको कारणले नै धेरै उद्योगी व्यवसायीको आर्थिक गतिविधि बढाउन टेवा पुगेको बताउँदै उनले केही सीमित घटनाको कारण समग्र सहकारी क्षेत्रमाथि प्रश्न उठेपनि सहकारीले अर्थतन्त्र निर्माणमा उदाहरणीय काम गरेको उनको छ ।

उनले पछिल्लो बैंक तथा वित्तीय क्षेत्रसँगै सहकारीबाट पनि कर्जा लिएको र त्यो कर्जा तिर्नुु हुँदैन भनेर केही समूहले गलत अभियान सुरु गरेको बताउँदै त्यो एकदमै गलत कार्य भएको बताए । सर्वसाधारणले सहकारी तथा बैंक वित्तीय संस्थामा राखेको स–सानो पैसालाई कर्जाका रुपमा लिएर तिर्दिन भन्नु ठूलो गलत भएको उनको भनाइ छ । यसले आम सर्वसाधारणलाई भ्रम फैलाउने काम भइरहेको उनले बताए । यस्ता किसिमका गलत गतिविधिलाई प्रोत्साहन गर्न नहुने उनको भनाइ छ । नकारात्मक विषयवस्तुहरु उचाल्ने काम नगर्न पनि उनको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *