विदेशबाट ऋण लिएर प्रदेश पाल्नुपर्ने अवस्था आयो, ज्ञानेन्द्र शाही

प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले विदेशबाट ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको भन्दै संघीयताको विरोध गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संघीयता कार्यकर्ता भर्ती गर्ने ठाउँ भएको बताएका हुन् । उनले कहीँ पनि नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भएको बताए ।

सांसद शाहीले पाँच वर्षमा प्रदेशका नाममा झण्डै १६ खर्ब खर्च गरिएको बताए । ‘विदेशीसँग ऋण मागेको पैसा कहाँ गयो ? पाँच वर्षमा प्रदेशका नाममा १५ खर्ब ९९ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ गयो । यदि एक अर्ब बराबर ३०० जना कर्मचारी राख्न सकिन्छ भने जम्मा ४ लाख ८९ हजार ६०० जनाले रोजगारी सिर्जना गर्न सकिन्छ,’ उनले भने, ‘संघीयता कार्यकर्ता भर्ती गर्ने केन्द्र बन्यो । यसरी विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन ।’

सांसद शाहीले विदेशबाट ऋण ल्याएको ल्याएकै गरे पनि हरेक दिन बेरोजगारी समस्या बढेको भन्दै यसको जवाफ हालसम्मका प्रधानमन्त्रीहरूले दिनुपर्ने बताए ।

‘विदेशबाट ऋण ल्याएको ल्याएकै गर्ने तर यहाँ युवाहरू हरेक दिन बेरोजगारी बढेको बढ्यै छ । त्यो पैसा कहाँ गयो ? यो पैसाको एक–एक हिसाब किताब अहिलेका प्रधानमन्त्रीले र आजसम्म भएका प्रधानमन्त्रीहरूले जवाफ दिनुपर्छ,’ उनले भने ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *