

प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले विदेशबाट ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको भन्दै संघीयताको विरोध गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संघीयता कार्यकर्ता भर्ती गर्ने ठाउँ भएको बताएका हुन् । उनले कहीँ पनि नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भएको बताए ।
सांसद शाहीले पाँच वर्षमा प्रदेशका नाममा झण्डै १६ खर्ब खर्च गरिएको बताए । ‘विदेशीसँग ऋण मागेको पैसा कहाँ गयो ? पाँच वर्षमा प्रदेशका नाममा १५ खर्ब ९९ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ गयो । यदि एक अर्ब बराबर ३०० जना कर्मचारी राख्न सकिन्छ भने जम्मा ४ लाख ८९ हजार ६०० जनाले रोजगारी सिर्जना गर्न सकिन्छ,’ उनले भने, ‘संघीयता कार्यकर्ता भर्ती गर्ने केन्द्र बन्यो । यसरी विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन ।’
सांसद शाहीले विदेशबाट ऋण ल्याएको ल्याएकै गरे पनि हरेक दिन बेरोजगारी समस्या बढेको भन्दै यसको जवाफ हालसम्मका प्रधानमन्त्रीहरूले दिनुपर्ने बताए ।
‘विदेशबाट ऋण ल्याएको ल्याएकै गर्ने तर यहाँ युवाहरू हरेक दिन बेरोजगारी बढेको बढ्यै छ । त्यो पैसा कहाँ गयो ? यो पैसाको एक–एक हिसाब किताब अहिलेका प्रधानमन्त्रीले र आजसम्म भएका प्रधानमन्त्रीहरूले जवाफ दिनुपर्छ,’ उनले भने ।

अर्थ सन्जाल