काठमाडौं । एनआईसी एशिया बैंकले किस्ता बुझाउन ढिलाइ गर्ने ऋणीको घरमै सुरक्षागार्ड पठाएको छ । बैंकले इटहरीका विक्रम तिम्सिना (विक्रम श्री) को घरमा सुरक्षा गार्ड पठाएको हो ।
विक्रम श्रीले एनआईसी एशिया बैंकबाट १५ वर्षका लागि ९६ लाख रुपैयाँ व्यावसायिक कर्जा लिएका थिए । २ महिना किस्ता बुझाउन नसक्दा नै बैंकले लिलामीको सूचना निकालेको उनको भनाइ छ ।
उनी भन्छन्, ‘मैले १५ वर्षको लागि बैंकबाट ९६ लाख रुपैयाँ ऋण लिएको थिएँ । ८ वर्षसम्म निरन्तर किस्ता तिर्दै आए । आर्थिक संकटका कारण २ महिना किस्ता तिर्न ढिला भयो । यतिकैमा बैंकले किस्ता उठाउँनकै लागि धेरै मान्छे खटाउने, फोटो खिच्ने ,बारम्बार फोन गर्ने गर्न थाल्यो । २ महिना किस्ता ढिला हुँदैमा लिलामी नै गर्नुपर्छ भन्ने त छैन नि , तर बैंकले भने एक्कासी लिलामीको सूचना निकाल्यो ।’
बैंकले ७ दिने,३५ दिने र ४ पुस्ते सहितको विवरण पत्रिकामा प्रकाशित गर्ने र लिलामीको सूचना एकैपटक प्रकाशित गरेर बैंकका म्यानेजरले आफूलाई पठाएको उनी बताउँछन् । बैंकले पठाएको उक्त सूचना पढिनसक्दै म्यानेजर सुरक्षा गार्ड लिएर घरमै आइपुगेको उनको गुनासो छ ।
बैंकका म्यानेजरले ३५ दिनभित्र घर लिलामी हुने भएकोले यो घर बैंकको भइसक्यो, अब हाम्रो सुरक्षा गार्ड यही बस्छ भनेर सुरक्षा गार्ड घरको मूल ढोकामै राखिएको पीडित बताउछन् ।
आफूले लिएको ऋण असुलीका लागि अंशबन्डा लिएर अलग भइसकेका भाइलाई समेत आफूलाई कालोसूचीमा पार्ने धम्की दिएर भाइसँग बैंकले पाँच लाख असुल गरेको उनले बताए ।
उनले सामाजिक सञ्जालमा समेत उक्त घटनाको जानकारी गराएका छन् । उनले लेखेका छन्, ‘मेरो घर अगाडि उभिएको ड्युटी जवान नेपाल प्रहरी नभएर एनआईसी एशिया बैंकले सेक्युरिटी गार्ड रहेको जानकारी गराउँछु ।’
श्रीले आफूले समयमा किस्ता तिर्न नसकेपछि बैंकका कर्मचारीले बोलाउने र फोटो खिच्ने गरेको बताए । किन फोटो खिचेको भन्दा हामीले ऋणीलाई भेटेको प्रमाण पठाउनु पर्छ भन्दै मानसिक यातना दिएको पनि उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘सहानुभूतिभन्दा हतोत्साहित बनाउने वातावरण रचना गरिनु, ऋणीको बाध्यता र परिस्थिति प्रत्यक्ष देखेर अनुभव गरेर पनि बारम्बार यस्तो दोहोरिनुले सबैलाई दुःखित बनाएको छ ।’ आफ्नो नारा ‘बैंक पनि साथी पनि’ सम्झन आग्रहसमेत विक्रम श्रीले गरेका छन् ।
यसैगरी किस्ता नबुझाएको भन्दै झापाको दमक नगरपालिका वडा नम्बर ५ का दुर्गाप्रसाद कँडेलको घरमा पनि एनआईसी बैंकले सुरक्षा गार्ड खटाएको थियो । त्यहाँ बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म गार्ड तैनाथ गरिएको थियो । सामाजिक सञ्जालमा विरोध भएपछि अहिले कँडेलको घरबाट सेक्युरिटी गार्ड हटेका छन् ।
३ महिनादेखि कँडेलले बैंकको सावाँ तथा व्याज तिरेका थिएनन् । खाएपछि समयमा तिर्नु पर्दैन भनी बैंकका कर्मचारीले अपमानजनक शब्द बोल्ने गरेकोसमेत कँडेलकी श्रीमती चन्द्रकलाले बताइन् ।
४ दिन पहिले बैंकले जति हुन्छ त्यति रकम लिएर आउनु भनेको र आफूले १० हजार रूपैयाँमात्र लगेर जम्मा गरेको कँडेलले बताए । पैसा जम्मा गरेर घरमा आइनपुग्दै बैंकले धितो सुरक्षा गर्न भन्दै सुरक्षा गार्ड खटाएको उनले बताए । १ करोड रूपैयाँ ऋण लिएकोमा अब साँवा ब्याज गरेर ९७ लाख रूपैयाँ तिर्न बाँकी रहेको कँडेलले बताए ।
चाहेर पनि समयमा किस्ता तिर्न नसक्दा बैंकले चिठ्ठी काट्ने, सूचना टाँस्ने र लिलामीको प्रक्रिया गर्नुपर्नेमा घरमै गार्ड पठाएर आफूहरुलाई बन्धक बनाउँदा स्वतन्त्रपूर्वक बाँच्न पाउने हकबाटसमेत आफूहरु बञ्चित भएको कडेँल परिवारको गुनासो छ ।
एआईसी बैँकका दमक शाखा प्रबन्धक तीर्थ प्रधानले ऋणीको घरमा बैँकले सुरक्षागार्ड खटाएको बताउँदै यसको जिम्मेवार बैँकको केन्द्रीय समिति हुने बताए । ‘ऋणीको घरमा सुरक्षा गार्ड खटाइएको हो’, उनले भने, ‘यसबारे सबै जिम्मेवारी केन्द्रीय समितिले लिन्छ । मलाई अरु अरु कुरा थाहा छैन ।’
यता एनआईसी बैंकका सहायक महाप्रबन्धक (एजिएम) अर्जुन खनियाँले पनि यसबारे स्पष्ट जवाफ दिएनन् । उनले यसबारे आफूलाई थाहा नभएको बताए । ‘ऋणीको घरमा सुरक्षा गार्ड खटाइएको विषयमा मलाई जानकारी छैन । जानकारी आएपछि भनौंला ’, उनले अर्थसञ्जालसँग भने । हामीले बैंकका सूचना अधिकारी सुधिर बस्नेतलाई बारम्बार फोन सम्पर्क गर्यौं, तर उनी सम्पर्कमा आउन चाहेनन् ।
यता, नेपाल राष्ट्र बैंकका सहप्रवक्ता प्रवक्ताले यसरी बैंकले ऋणीको घरमै सुरक्षा गार्ड पठाउन नमिल्ने बताएका छन् ।
‘कुनैपनि बैँकले यसरी ऋणीको घरमा सुरक्षागार्ड राख्नु केन्द्रीय बैँकको नीति विपरित हुने उनको भनाइ छ । उनी भन्छन्, लिलामीको पनि प्रक्रिया हुन्छ । ऋण ‘लस क्याटागोरी’ मा नपुगिकन लिलामीको सूचना निकाल्न मिल्दैन ।’
उनी थप्छन्, ‘बैंकले आफूखुसी राष्ट्र बैंकको नियममै नभएको कामकारबाही गर्न मिल्दैन । यो बारेमा पिडितको गुनासो आएमा हामी कारबाही गर्छौँ ।’ उनले यस विषयमा पीडितलाई राष्ट्र बैंकको ग्राहक सुरक्षा इकाइमा उजुरी दिन समेत आग्रह गरेका छन् ।







