नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले औपचारिकरुपमा टिम घोषणा गर्दै आफ्नो समूहको वाचापत्र सार्वजनिक गरेका छन् । श्रेष्ठले आफ्नो टिमसहित आज एक कार्यक्रममा बीच बाचापत्र घोषणा गरेका हुन् ।
वाचापत्र सार्वजनिक गर्दै श्रेष्ठले जिवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्रको लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । उनले अहिले मुलुकको अर्थतन्त्र संकटमा रहेको र व्यवसायीहरु पनि पीडामा रहेको अवस्थामा सक्षम र सबल नेतृत्व चाहिएकोले बलियो टिमसहित आफूले वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएको बताए । उनले सफल नेतृत्वको मूल्याकंन संकटको घडीमा हुनेहुदा आफू यो चुनौतीको सामना गर्ने बताएका छन् ।
स्थानीय उत्पादनहरुको प्रवर्द्धन गर्दै औद्योगिक विकासमा अगाडि बढनुपर्ने श्रेष्ठको भनाई छ । नेपाल जस्तो मुलुकमा कुनै पनि व्यवसाय टिकाउनको लागि व्यवसाय विस्तार गर्न जरुरी भएको भन्दै श्रेष्ठले निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेर सँगै अगाडि बढ्नुपर्ने बताए ।
उनले सबैको हौसला र सहयोगलाई लिएर संकटको घडीलाई समाधान गर्न आफ्नो टिमसहित आफु हरदम खटिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
अहिले मुलुकको अर्थतन्त्रमा ठुलो चुनौती रहेको स्मरण गराउँदै उनले नियामक निकायले क्षणिक समाधान गर्न लाग्दा समस्या झनै गहिरिन पुगेको बताए । उनले भने, ‘अहिले अर्थतन्त्र संकटको घडीमा छ । ब्याजदर, तरलताको अभाव, पुँजीगत खर्च समस्या लगायत समस्या छन् । यो तत्काल नै आएको समस्या होइन विगतदेखि नै आएको समस्या हो । तसर्थ नियमकीय निकायले क्षणिक समाधान गर्न लागि पर्दा यो समस्या झन् गहिरिन पुगेको छ । अर्थतन्त्रको समस्या गहिरिंदा व्यवसायीहरु मर्कामा परेका छन् ।’
देशको अर्थतन्त्र राज्य र सत्ता संचालकहरुको प्राथमिकतामा नपरेको गुनासो ब्यक्त गरे । निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको भन्दै राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेकोले रोजगारी सृजना हुन नसकेको बताए ।
उनले कृषि पर्यटन, उत्पादन र साना तथा मझौला व्यवसायीको समस्या नजिकबाट नियालेकोले आफ्नो टिमलाई निर्वाचित गराए सो समस्या हटाउन लागि पर्ने बताए ।
वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले महासंघलाई नयाँ उचाईमा पुर्याउन र संस्थाको व्यवसायीक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन आफ्नो वाचापत्रलाई आधार मानेर काम गर्ने स्पष्ट पारेका छन् ।
निजी क्षेत्रको चुनौती र साना व्यवसायीहरुको मर्का आफूले बुझेको बताउँदै महासंघलाइ सुदृढ बनाउन आफुहरु सेवामूलक हिसाबले लागि पर्ने समेत समेत बताए ।
आफ्नो टिमले सहभावना र सहकार्यको मुल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता उनले जाहेर गरे ।

२० वर्ष अगाडि महासंघमा प्रवेश गरेका श्रेष्ठ १५ वर्ष अघिदेखि महासंघको कार्यसमितिमा संलग्न छन् । उनले वस्तुगत समुहतार्फ़ एक कार्यकाल बिताएर हाल उपाध्यक्ष छन् । श्रेष्ठको परिवारले ३ सय रुपैयाँको लगानीमा घरेलु व्यवसाय सुरु गरेका थिए । अहिले उनको व्यवसाय देशैभर फैलिएको छ । उनको व्यवसाय अहिले अन्तर्राष्ट्रिय स्तरमै १ वटा मुलुकमा निर्यात गर्न सफल भएको छ ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिष लाल प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरे।
अन्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै एसोसिएट्सतर्फ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिएका भरतराज आचार्यले सामूहिकतामा विश्वास गर्ने हुँदा सोहिअनुसार सहकार्य गरिएको बताए।
यस्तैगरी समूहको तर्फबाट वस्तुगत समूह तथा जिल्ला नगरतर्फका प्यानल सदस्यहरुले समेत आफ्नो उम्मेदवारी औपचारिकरुपमा घोषणा गरे।
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन यहि चैत २९ गते हुँदैछ ।




