नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेका छन् ।
विश्व बैंकको टोलीले मङ्गलबार र एडिबीको टोलीले आज बिहान छलफल गरेको हो । छलफलका क्रममा ती दातृ निकायले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न अर्थमन्त्रीसँग आग्रह गरेका छन् ।
छलफलका क्रममा नयाँ विकास आयोजना र कार्यक्रमबारे पनि छलफल भएको अर्थमन्त्री महतले बताए । “उहाँहरूले विभिन्न क्षेत्रमा सहयोग गर्न चाहन्छौं भन्नुभएको छ, एसियाली विकास बैंकले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना र विश्व बैंकले माथिल्लो अरुण जलाशययुक्त जलविद्युत् आयोजनामा चासो देखाइरहेका छन्, त्यस्तै सडक आयोजनाहरुमा पनि बजेटरी सहयोगका लागि उनीहरुको चासो छ”, अर्थमन्त्री महतले बताए ।
नेपालको समग्र आर्थिक अवस्था सुधारका लागि सरकारले चाल्ने कदमबारे पनि विश्व बैंक र एडिबीले चासो देखाएका छन् । तात्कालिन आर्थिक समस्या र सरकारको प्राथमिकताबारे अर्थमन्त्रीसँग चासो राखेका थिए । अर्थतन्त्रमा देखिएका समस्या समाधान र मुख्यगरी खर्च गर्ने क्षमतामा देखिएको समस्यालाई बिस्तारै हटाउँदै जानेबारे प्रतिवद्ध रहेको अर्थमन्त्री महतले बताए ।
अर्थमन्त्रीका रुपमा कार्यभार सम्हालेलगत्तै महतले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड, निजी क्षेत्रका छाता सङ्गठनहरु, विकास साझेदारलगायत क्षेत्रसँग परामर्श लिन थालेका छन् ।




