सौराहामा अज्ञात समूहद्वारा काटियो हात्तीको सुँड

 पर्यटकीय नगरी सौराहामा बाँधेर राखिएको एक हात्तीको सुँड काटिएको छ । पर्यटन व्‍यवसायी दिपेश खतिवडाले आफूले पालेको पोथी हात्तीको सुँड अज्ञात समूहले काटिदिएको बताए ।

खतिवडाका अनुसार गएराति ११ः३० बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको थियो । हात्ती पीडाले कराएपछि हेर्न जाँदा यस्तो घटना देखिएको उनको बताए ।

हात्तीलाई मार्ने उद्देश्यले नै सुँड काटिएको हुनसक्ने खतिवडाले बताए । उनका अनुसार ४५ वर्षीया चन्चलकली हात्तीको सुँड छ इन्च काटिएको छ । बाघमारा सामुदायिक वन जाने बाटोमा तीन वटा हात्ती एकै ठाउँमा बाँधेर राखिएकामा चन्चलकलीको सुँड काटिएको थियो ।

काटिएको सुँडको भाग जोड्न नमिल्ने अवस्थामा रहेको र उपचारका बारेमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सक तथा प्राविधिकहरुबीच छलफल भइरहेको खतिवडाले बताए ।

जिल्ला प्रहरी कार्यालयका उपरीक्षक रामेश्वर कार्कीले नेपाल प्रहरी र निकुञ्ज प्रशासनको सहयोगमा घटनाबारे अनुसन्धान भइरहेको बताए । हात्तीको सुँड काटिएको यो पहिलो घटना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *