मिटरब्याज पीडितको अर्को टोली भोलि (सोमबार) काठमाडौं आउने भएको छ । महोत्तरीको बर्दिबासबाट ११ दिन पैदलयात्रा गरेर ७२ जना मिटरब्याज पीडित काठमाडौं आएको छैटौँ दिनमा थप एक हजार बढी पीडित काठमाडौं आउने भएका हुन् ।
देशभरका १८ जिल्लाबाट आइतबार पीडितहरू काठमाडौं आउन लागेको मिटरब्याज विरुद्धको संघर्ष समितिका अभियन्ता मनोज खतिवडाले जानकारी दिए। उनका अनुसार देशभर ३५ जिल्लाका पीडितहरू सम्पर्कमा आएकोमा तत्काल १८ जिल्लाबाट पीडितहरू काठमाडौं आउन लागेको हो ।
नवलपरासीका मिटरब्याज पीडितहरू विगत २८ महिनादेखि मिटरब्याजविरुद्ध आन्दोलित छन्। पटकपटक विरोध कार्यक्रमसहित उनीहरू काठमाडौं आएर धर्नामा बस्ने गरेका छन्।
गत असोज १ गते पीडित र सरकारबीच ५ बूँदे सम्झौतासहित सहमति भएको थियो। तर त्यो सहमति कार्यान्वयन नभएपछि ११ दिन पैदल हिँडेर काठमाडौं आएका पीडितहरुसँग सरकारले नयाँ ५ बुँदे सम्झौता गरेको छ । सम्झौता पछि पीडितहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए।




