नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अदालतले ब्रोकर लाइसेन्सको मुद्दामा निर्णय गरिदिए अर्को नियमावली ल्याएर भए पनि ब्रोकर लाइसेन्स दिने बताएका छन् ।
‘समृद्ध नेपालको आधारः पूँजीबजार सुधार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले नेपालमा १०० वटा ब्रोकर आवश्यक रहेको बताएका छन् । उनले एकै किसिमको ब्रोकर नभई फरक फरक किसिमका १०० वटा ब्रोकर चाहिने समेत बताए।
अदालतले ब्रोकर लाइसेन्सको फैसला नगर्दा सात महिनादेखि पूँजी फ्रिज भएर बसेको उनको गुनासो छ । अध्यक्ष हमालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाहरु बेलैमा टुंगो लग्नु पर्ने समेत बताए । अदालतमा परेका नयाँ स्टक ब्रोकर र नयाँ स्टक एक्सचेन्ज सम्बन्धि मुद्दाहरु छिटो टुंगो लाग्नु पर्ने र यसको लागि आफुले पनि अदालतलाई आग्रह गरिरहेको उनको भनाई छ ।
अदालतले छिटोभन्दा छिटो मुद्दाको टुंगो लगाउनु पर्ने भन्दै उनले यसलाई अनिर्णयको बन्दी बनाएर राख्न नहुने उनले बताए । यदि आफ्नो पक्षमा निर्णय नआए अर्को बाटोबाट भएपनि नयाँ स्टक एक्सचेन्ज, नयाँ स्टक ब्रोकर र कमोडिटी ल्याउनको लागि पहल गर्ने हमालले बताएका छन्।
बोर्डले उत्तरदायी, पारदर्शीता ,सुशासन र स्वच्छ प्रतिस्पर्धाको नीति लिएकोले यसलाई लागु गर्दा बजार आफैं सुधार हुने अध्यक्ष हमालको दावी छ । अहिलेका ब्रोकर प्रतिस्पर्धी हुनु पर्ने भन्दै अध्यक्ष हमालले ब्रोकरको संख्या बढाउनुपर्ने आवश्यक रहेको बताए । यसमा कसैले विरोध गर्नुपर्ने जरुरी नरहेको पनि उनले बताए ।बलियो ब्रोकरका लागि मापदण्ड बलियो बनाउनुपर्ने र मापदण्ड पुगेकाहरुले अनुमति पाउनुपर्ने हमालको धारणा छ ।







