नेपाल राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले आगामी दिनमा बैंकहरुको खराब ऋण अनुपात थोरै वृद्धि भए पनि आत्तिनु पर्ने अवस्थामा नपुग्ने बताएका छन् । सोमबार वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुसँगभएको छलफलमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
बैंकविरोधी घट्नाप्रति संकेत गर्दै यस्ता गतिविधि निरन्तर रुपमा अगाडि बढेमा राष्ट्र बैंक कठोर रूपमा प्रस्तुत हुने आश्वासन गभर्नर अधिकारीले बैंकर्सलाई दिएका थिए । तरलता बढ्दा थालेपछि कर्जा सहज हुने र अतिवाश्यक क्षेत्रमा कर्जा प्रवाह गर्नबाट राष्ट्र बैंकले नरोक्ने भएकाले अहिले पुँजी बढाउन आवश्यक नरहेको गभर्नर अधिकारीले बताएका थिए।
गभर्नर अधिकारीले राष्ट्र बैंकले हरबखत बैंकहरुलाई सहयोग गर्ने बताए पनि नियमन र अनुपालनमा भने राष्ट्र बैंकले सम्झौता नगर्ने बताएका थिए ।
छलफलमा सीईओहरूलाई आफ्ना समस्या राख्न समय दिइएको थियो। घरेलु साना तथा मझौला उद्योग व्यवसाय, सिमेन्ट तथा छड उत्पादक, पर्यटन र निर्माणलगायतका क्षेत्रहरु समस्यामा रहेकाले बैंकहरुमा खराब कर्जा बढेको बैंकका सीईओहरूले बताएका थिए। यी क्षेत्र सहज हुनसाथ बैंकको खराब कर्जा घट्ने बताउँदै उनीहरुले निश्चित अवधिका लागि कर्जाको पुनर्संचरना गर्न आग्रह गरेका थिए।




