मिटर ब्याजबाट लिएको पैसा फसेपछि चाबहिलका दिपक श्रेष्ठले आत्महत्या गरेका छन् । उनले मिटर ब्याजमा लिएको करोडौँ पैसा पार्टनरसिपमार्फत जग्गामा लगानी गरेका थिए ।
उनका पार्टनर थिए, बिनम्र बुढाथोकी र लोकबहादुर बुढाथोकी । मृतक श्रेष्ठले मिटर ब्याजमा पैसा उठाएर बिनम्र र लोकबहादुर बुढाथोकीलाई बुझाउथे । तर पार्टरबाट धोका भएपछि उनले आत्महत्याको बाटो रोजेको श्रेष्ठको परिवारको आरोप छ ।
बिनम्र र लोकबहादुरले श्रेष्ठले उठाएर आफूहरुलाई दिएको रकमको प्रमाण नष्ट गरिदिएपछि उनले फागुन १७ गते आत्महत्या गरेका हुन् । उनीहरुबीच विवाद हुँदा श्रेष्ठले आफूले बिनम्र र लोकबहादुरलाई पैसा दिएको सबै प्रमाण नष्ट गरिदिएका थिए । जसको कारण उनी मिटरब्याजको फन्दामा परेका थिए ।
दिपकले सुसाइड नोट लेख्दै झुण्डिएर आत्महत्या गरेको परिवारको दाबी छ । उनले आत्महत्या गर्नुभन्दा अघि आफुलाई मर्न बाध्य बनाउनेहरुको नाम सहितको सुसाईट नोटमा लेखिएको तर प्रहरीले अहिलेसम्म पनि सार्वजनिक नगरेको र परिवारलाई समेत हेर्न नदिएको पीडित परिवारको गुनासो छ । अहिले श्रेष्ठका परिवार आफूहरुले न्याय पाउनुपर्ने,दोषीलाई कारबाही हुनुपर्ने,उचित क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै आएका छन् ।
उनीहरुले आज काठमाडौं जिल्ला अदालतबाट पिडक भनिएकाहरुलाई धरौटीमा रिहा गर्ने भन्ने थाहा पाएपछी अदालतभित्रै प्रदर्शन समेत गरेका छन् ।














