मकवानपुर। बागमती प्रदेश सरकारमा ६ जना मन्त्री नियुक्त भएका छन्। नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले ६ मन्त्री नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सत्तारूढ गठबन्धनमा रहेका एमाले, नेकपा र राप्रपाबाट मन्त्री नियुक्त गरिएको हो।
मुख्यमन्त्री थापाले एमालेबाट भरतबहादुर केसी र ज्ञानबहादुर तामाङ, नेकपाबाट सरल सहयात्री, राप्रपाबाट गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापतिलाई मन्त्री नियुक्त गरेका छन्।
नवनियुक्त मन्त्रीहरूको जिम्मेवारीसमेत तोकिएको छ। भरतबहादुर केसीलाई भौतिक पूर्वाधार विकास, सरल सहयात्रीलाई आर्थिक मामिला तथा योजना, गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक, राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ। ज्ञानबहादुर तामाङ भने विनाविभागीय मन्त्री बनेका छन्।
प्रदेशका आठमध्ये कृषि, पशुपन्छी, वन तथा वातावरण र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय भने मुख्यमन्त्री थापा आफैंले सम्हालेका छन्।




