

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारका आकाक्षी उमेशलाल श्रेष्ठले सरकारले निजीक्षेत्रको सम्मान नगरेसम्म देश आर्थिक रुपमा सबल हुन नसक्ने बताएका छन् । सुदूर पश्चिम प्रदेश उद्योग वाणिज्य महासंघको छैठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठले भनेका छन्, ‘अहिले तीन वटै तहको सरकार चलाउन निजी क्षेत्रको ठूलो सहयोग छ तर निजी क्षेत्रलाई कुनै सम्मान गरिँदैन।’ ‘सम्मान भन्नाले हामीलाई राज्यले फुलमाला लगाईराख्न पर्दैन तर काम गर्ने वातावरण त बनाईदिन पर्यो नि ।’ उनले भने
‘हामीले आन्दोलनमार्फत विभिन्न राजनीतिक व्यवस्था बदल्यौं तर राजनीति र कर्मचारी तन्त्रमा परिवर्तन आएन। हामी पञ्चायत हुँदै गणतन्त्रसम्म आईपुग्यौं तर हाम्रो कर्मचारीमा तन्त्रको काम गर्ने शैली पञ्चायतकालिन नै छ ।’ उनले भने, कुनै पनि मुलुकमा राजनीतिक क्रान्ति हुँदा आर्थिक व्यवस्थाका साथै सरकार र कर्मचारी तन्त्रको कार्यशैली बदलिने भन्दै तर नेपालमा कुनै पनि कार्यशैलीमा परिवर्तन नआएको भन्दै श्रेष्ठले गुनासो गरेका थिए ।
‘हामील अहिले बैंक विरुद्ध आन्दोलनमा छौं तर हाम्रा लागि त्यो भन्दा ठूलो समस्या नीति नियममा देखिएका समस्या हुन्,’ उनले भने, ‘अहिले नियामक निकायले बैंकहरुलाई विना लगाम छाडिदिँदा समस्या आएको छ त्यसमा सरकार र राष्ट्र बैंक निजी क्षेत्रमैत्री हुनु जरुरी छ ।’ सरकार र राष्ट्र बैंकले चाहेको खण्डमा अहिले देखिएको उच्च व्याजदर घटाउन सक्ने भन्दै त्यसका लागि नेपाल उद्योग वाणिज्य महासंघले पहल गर्नुपर्ने उनको भनाई थियो ।
श्रेष्ठले सरकारले देशको आर्थिक स्थिती सुधार गर्न कम्तीमा एक दशकसम्म एउटै आर्थिक नीति लिनुपर्ने बताए । जबसम्म सरकारले निजी क्षेत्रलाई सम्मान गरेर देशका ठूला पूर्वाधार विकाशमा लगानी गर्न आब्हान गर्नु हुन्न तबसम्म देश आर्थिक रुपमा अघि बढ्न नसक्ने उनको भनाइ थियो
उनले आफ्नो एउटै मुलमन्त्र उद्योग व्यवसाय संचालन गर्दै देशलाई आर्थिक रुपमा सक्षम बनाउने भएको भन्दै व्यवसायीका समस्या समाधान गर्न पुनः महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षको रुपमा अघि बढेको समेत उनले जानकारी दिए । श्रेष्ठले अहिलेको विषम परिस्थितीमा महासंघको नेतृत्व लिन आएको भन्दै अब हुने वरिष्ठ उपाध्यक्षको लागि आफुलाई मत दिएर निर्वाचित गराउन श्रेष्ठले आग्रह गरे ।

अर्थ सन्जाल