राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाका ऋणी सदस्यहरुलाई समयमा नै ऋणको किस्ता तथा ब्याज भुक्तानी गर्न आग्रह गरेको छ ।
सहकारी संघ/संस्थाहरूले वचत रकमको सामान्यतया ८० प्रतिशतसम्म सदस्यहरूलाई नै विभिन्न प्रयोजनमा कर्जा प्रवाह गर्ने भएको हुँदा ऋणी सदस्यहरूलाई समयमा नै नियमित किस्ता तथा व्याज भुक्तानी गरी अन्य सदस्यहरूको वचत रकम फिर्ता गर्न सहज वातावरण बनाइदिन आग्रह गरेको हो ।
सहकारीको तरलता व्यवस्थापन गर्न पनि महासंघले सरकारसँग सहुलियतपूर्ण ऋण माग गरेको छ । सहकारीको छुट्टै कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण र बचत तथा कर्जा सुरक्षण कोषको स्थापना गर्नुपर्ने माग पनि महासंघले गरेको छ ।
केही संस्थाबाट भएका गलत क्रियाकलापको हल्लाका कारण सबै सहकारी संस्थाहरू उस्तै हुन भन्ने बुझाईले सदस्यहरूबाट एकैपटक वचत फिर्ता लिन खोज्दा संस्थाको तरलता व्यवस्थापनमा कठिनाई भई संस्थामा गम्भिर असर पर्न जाने भएकोले सम्पूर्ण सदस्यहरूलाई संयमित भएर नियमित कारोवार गर्न समेत महासंघले आग्रह गरेको छ ।
संस्थाका सदस्यहरूले निराधार हल्लाकापछि लागि संचालक एवं कर्मचारीहरूमाथि दुर्व्यवहार, हुलदंगा नगरी सामान्य परिस्थितिमा झै संस्था सहज रूपमा संचालन हुने बातावरण बनाइदिन समेत बचतकर्तालाई आग्रह गरेको छ ।





