मर्जर प्रक्रिया पूरा गरी आज फागुन २९ गतेबाट एकीकृत निर्जीवन बीमा कारोबार सञ्चालन गर्न लागेको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एकीकृत कारोबार प्रारम्भ भएको मितिबाट १५ दिनका लागि सेयर कारोबार रोकेको हो । आइतबार दुवै कम्पनीले सेयर कारोबार रोकिदिन नेप्सेलाई पत्राचार गरेका थिए।
धितोपत्र बोर्डको मर्जर निर्देशिकाबमोजिम मर्जरमा गएका कम्पनीको सेयर मिलान, धितोपत्रको पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत निर्जीवन बीमा कारोबार सञ्चालन गर्न लागिएको हो। मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको नक्सालमा रहनेछ।
सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर आदानप्रदान अनुपात १००:८० मा मर्ज भएका हुन् । मर्जरपश्चात कायम हुने कम्पनीको चुक्तापुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९५ रुपैयाँ कायम रहनेछ।







