साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा गिरावट आएको छ । ब्याजदर घटाउने समाचारले बिहीबार उच्च अंकले बढेको सेयर बजार आइतबार पुन घटेको हो ।
यस दिन सेयर बजार मापन गर्ने नेप्से परिसूचक २६.८० अंकले घटेर १९७५.८९ बिन्दुमा पुगेको छ । आज १३ वटै सूचक राताम्मे बनेको छ ।
नेप्सेका अनुसार कारोबार अवधिभर २६० कम्पनीको ४७ लाख ७२ हजार १४० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६६ करोड ६९ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन् १८६ कम्पनीको सेयर मूल्य घटेको छ भने २६ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
आज सर्वाधिक शिवम् सिमेन्ट्सको ८ करोड २१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
आज शुभम् पावरको सेयरमा सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ। त्यस्तै, नबिल डिभेञ्चर ८५, युनिक नेपाल, नाडेप लघुवित्त, ग्रामीण विकास लघुवित्त, गरिमा बैंकको डिभेञ्चर ८५, एनआईसी एसिया बैंकको डिभेञ्चर ८२८३, कृषि विकास बैंकको डिभेञ्चर ८३, सिटिजन म्युचुअल फण्ड १, आरबीबी म्युचुअल फण्ड १ र समिट लघुवित्तको सेयर मूल्य बढेको छ।
त्यसैगरी, गुडविल फाइनान्सको डिभेन्चरको सेयर मूल्य सर्वाधिक ६.५५ प्रतिशतले घटेको छ । हिमालयन बैंक, नेपाल इन्स्योरेन्स, खप्तड लघुवित्त, आदर्श लघुवित्त लगायत अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।




