अर्थतन्त्रका संरचनागत विषयमा धेरै सुधार गर्न जरुरी छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गइरहेको बताएका छन् । शुक्रबारदेखि राजधानीमा आयोजित दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन –२०७९ मा बोल्दै गभर्नर अधिकारीलेउनले नेपाल समान देशको तुलनामा नेपालको अर्थतन्त्र सुधार भइरहेको बताएका हुन् ।

‘गत आर्थिक वर्षको यही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्बले घाटामा थियो,’ गभर्नर अधिकारीले भने, ‘१० अर्ब डलरभन्दा बढी विदेशी विनियम सञ्चितिका साथ १० महिनाको आयात धान्ने पर्याप्त अवस्थामा पुगेका छौं। नेपाल भित्रिने र बाहिरिने रकमबीचको यो अन्तर माघमा अझै सुधार भएको छ।’

गभर्नर अधिकारीले अर्थतन्त्रका संरचनागत विषयमा धेरै सुधार गर्न जरुरी रहेको बताए । उनले अर्थतन्त्र अहिले सहज स्थितिमा रहेको भन्दै सबै कुरामा नकारात्मक रूपले नहेर्न आग्रह गरे ।

पछिल्लो अवधिमा बैंकको लगानी गर्ने क्षमता बढेको उनले स्मरण गराए । अघिल्लो आवको यही अवधिमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९६ प्रतिशतसम्म पुगेको भन्दै अहिले यस्तो अनुपात ८६ प्रतिशतमा झरेको उनले बताए ।

‘ऋण पाउन सजिलो त छैन। तर, हिजो दुरुपयोग हुनेगरी पनि ऋण प्रवाह हुन्थ्यो, आज त्यही डरले रोकिएको छ,’ उनले भने।

उनले आवाजविहीनहरूको र साना लगानीकर्ताहरूका लागि, दुई करोड रुपैयाँभन्दा कम लगानी गर्नेहरूका लागि बेस रेटमा दुई प्रतिशतभन्दा बढी चार्ज गर्न नपाउने व्यवस्था गरेको पनि बताए ।

गभर्नर अधिकारीले ब्याजदरको बारेमा आवश्यक वित्तीय साक्षरता पुर्‍याउन नसकेको स्वीकारे। स्थिर ब्याजदरमा कर्जा लिन पाउने व्यवस्था रहँदारहँदै व्यवसायी घटबढ हुने कर्जादरको सुविधा उपयोग गर्ने गरेको यथार्थ प्रस्तुत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *