मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ भोली (शुक्रबार) बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओ शुक्रबार बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । आईपीओ क्यापिटलको कार्यालय कमलपोखरीमा बाँडफाँट गरिएको छ ।
कम्पनीको आईपीओ हात पार्न भाग्यकै बर पर्नुपर्नेछ । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा मागभन्दा ७.३२ गुणा बढी आवेदन परेको छ । त्यसैले, आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ ।
कम्पनीको आईपीओमा १४ लाख ८७ हजार ५८४ जनाले कुल १ करोड ६५ लाख ९० हजार १७० कित्ताको लागि आवेदन दिएका छन् । जसमा २ लाख २६ हजार ४६५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १२ लाख ६१ हजार ११८ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले फागुन ४ गतेदेखि १० गतेसम्म २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आईपीओ बिक्री गरेको थियो ।
यसमध्ये १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पहला नै निष्काशन गरिसकेको थियो । यस्तै, ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २२ लाख ६४ हजार ६५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था रहेको थियो ।




