प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनी मर्जर भएर आजदेखि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड भएका छन् । आजदेखि एकिकृत कारोबार शुभारम्भ गरेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेश लाल श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ साविक प्रिमियर इन्स्योरेन्सका अध्यक्ष हुन् ।
त्यस्तै, सञ्चालक समितिको सदस्यमा पवन कुमार अग्रवाल, राजन कृष्ण श्रेष्ठ, राहुल अग्रवाल, वलराम श्रेष्ठ र रामेश्वर प्रसाद बस्याल चयन भएका छन् ।
सञ्चालक समितिमा सिद्धार्थको तर्फबाट पवन कुमार अग्रवाल, राहुल अग्रवाल र रामेश्वर प्रसाद वस्याल चयन भएका छन् भने प्रिमियरको तर्फबाट अध्यक्ष श्रेष्ठ सहित सञ्चालक समितिको सदस्यमा राजन कृष्ण श्रेष्ठ र वलराम श्रेष्ठ चयन भएका हुन् । त्यस्तै कम्पनी सचिवमा सिद्धार्थका सुदर्शन आचार्य नियुक्त भएका छन् ।
दुई कम्पनीको मर्जरसँगै लोगोलाई पनि मर्जर गरिएको छ । साविक प्रिमियर इन्स्योरेन्स कम्पनीको लोगो भित्र साविक सिद्धार्थ इन्स्योरेन्स कम्पनीको लोगोलाई समावेश गरिएको छ । जहाँ साविक प्रिमियरको चौघेरामा भगवान सिद्धार्थको तस्विर राखिएको छ । भगवान सिद्धार्थ गौतमको नामबाटै सिद्धार्थ इन्स्योरेन्स भनेर राखिएको थियो ।
यी २ कम्पनी कम्पनीले बराबरी हैसियत अर्थात् १:१ अनुपातमा मर्जरमा गएका हुन् । मर्जरसँगै कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड पुगेको छ । यससँगै चुक्ता पूँजीका हिसावले यो नै अहिलेसम्मकै सबैभन्दा धेरै पूँजी भएको कम्पनी बनेको छ । त्यस्तै जगेडा कोषमा ५८ करोड २२ लाख जम्मा भएको छ । खुद बीमा शुल्क आर्जनका हिसावले शिखर पछि दोस्रो ठुलो कम्पनी बनेको छ । कम्पनीले सबैभन्दा ठुलो निर्जीवन बीमा कम्पनी शिखरलाई टक्कर दिएको छ ।




