यूएईमा विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखला खेलिरहेको नेपाली राष्ट्रिय टिममा सन्दीप लामिछानेलाई राख्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले अनुमति दिएको छ । टिमको रिजर्भमा रहेका उनलाई आईसीसीले ‘रिप्लेसमेन्ट’मा राख्न अनुमति दिएको हो ।
घाइते रहेका श्याम ढकालको स्थानमा सन्दीपलाई राख्न नेपाल क्रिकेट संघ (क्यान)ले मागेको अनुमति आईसिसीले स्वीकृत गरेको हो । यससँगै सन्दीप बुधबार नै यूएई प्रस्थान गरेका छन् ।
यसअघि उच्च अदालत पाटनले विदेश भ्रमणमा प्रतिबन्ध लगाएका कारण सन्दीप नेपालको यूएई भ्रमणका लागि घोषणा गरिएको टोलीमा थिएनन् । तर सोमबार सर्वोच्च अदालतले सशर्त प्रतिबन्ध फुकुवा गरेपछि सन्दीपले उक्त शृंखला खेल्ने पक्का भएको हो ।
शृंखलाअन्तर्गत नेपालले चारमध्ये पहिलो खेल भने खेलिसकेको छ । पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई ४ विकेटले हराएको थियो । बिहीबार यूएईसँग खेल्दै छ ।




