पुनः जनगणना गर्न सांसदहरुको माग

प्रतिनिधिसभाका सांसदहरुले पुनःजनगणना गर्न माग गरेका छन् । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै सांसदहरुले पुनःजनगणना गर्न माग गरेका हुन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहे अनुसार जनगणना नभएको उल्लेख गर्दै पुनर्गणना गर्न समेत माग गरेका थिए ।

काठमाडौंको जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नहुनुको कारण स्पष्ट पार्न केन्द्रीय तथ्यांक विभागसँग उनिहरुको माग छ । काठमाडौंमा सधैं माइग्रेशन बढिरहने तर त्यस अनुपातमा जनसंख्या घट्ने काम हुनै नसक्ने हुँदाहुँदै पनि तथ्यांक विभागको प्रारम्भिक नजितामा घटेर आउनुको कारण आफूहरुले बुझ्न सांसदहरुको भनाइ छ ।

काँग्रेस सांसद राईले सही तरिकाले जनसंख्याको तथ्यांक नआएको भन्दै पुनः जनगणना गर्न सरकारसँग माग गरेकी छन् । उनले विदेशमा गएको नेपालीहरुको जनगणना गर्ने कार्य योजना के छ? भनी केन्द्रीय तथ्यांक विभागलाई प्रश्न समेत गरीन् । सांसद राईले गणकहरुलाई घरघरमा पुर्‍याएर तथ्यांक संकलन गर्ने काम नभएको अनुभूति सुनाउँदै आपत्ति जनाएकी छन् ।

केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुन सक्ने बताएका छन् । उनले प्रारम्भिक नतिजा भएको र पूर्ण भएर आउँदा सबै तथ्य आउनेतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *