काठमाडौं। वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न र आर्थिक कारोबार पारदर्शी बनाउन वैदेशिक रोजगार विभागले सेवा शुल्क बैंकिङ प्रणालीमार्फत मात्रै बुझाउन निर्देशन दिएको छ।
विभागले जारी गरेको सूचनाअनुसार इजाजतपत्रप्राप्त म्यानपावर कम्पनीलाई बुझाइने सेवा शुल्क नगदमा नभई बैंकमार्फत मात्रै भुक्तानी गर्नुपर्नेछ।
प्रचलित कानुनबमोजिमको शुल्क अनिवार्य रूपमा बैंकिङ माध्यम प्रयोग गरेर तिर्न विभागले आग्रह गरेको हो।
कामदारले बैंकमा रकम जम्मा गर्दा भुक्तानीको प्रयोजन स्पष्ट खुलाउनुपर्ने र सोको प्रमाण वा अनलाइन कारोबार विवरण सुरक्षित राख्नुपर्ने विभागले जनाएको छ।
नगद कारोबार गर्दा ठगी भएको अवस्थामा प्रमाण जुटाउन कठिन हुने भएकाले म्यानपावर कम्पनीका सञ्चालक, कर्मचारी वा प्रतिनिधिलाई नगद रकम नदिन विभागले सचेत गराएको छ।
सूचनाको उल्लंघन गर्दै नगद लेनदेन गरे वा गराएमा सम्बन्धित पक्षमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ।






