ऋण तिर्न नसकेपछि कञ्चनरुपमा महिलाले गरिन् आत्महत्या

सप्तरीको कञ्चनरुप नगरपालिका ९ विष्णुमन्दिर टोलका भीमबहादुर भुजेलकी ५८ वर्षीया श्रीमतीले ऋणको भारी खेप्न नसकेपछि आत्महत्याको बाटो रोजेकी छिन् । भीमबहादुरकी श्रीमती शान्ता कुमारी भुजेलले घर नजिकैको रुखको हाँगामा पासो लगाएर आत्महत्या गरेकी हुन् ।

सप्तरीका प्रहरी नायव उपरीक्षक नरेश सिंहका अनुसार स्थानीयले शान्ता कुमारीलाई रुखमा झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । शान्ताले विभिन्न लघुवित्त र साहुमहाजनबाट ऋण लिएर चलाएको देखिएको सिंहले बताए । सम्पतिको नाममा रहेको १० धुर घरघडेरी पनि एक वर्षअघि एकजना साहुको नाममा पास गरी ऋण लिएको र अहिले साहुमहाजन तथा लघुवित्त संस्थाका संचालकहरुले दिनहुँ ऋण तिर्न ताकेता गर्दै तनाव दिएपछि उनले मृत्युको बाटो रोजेको पाइएको छ ।

स्थानीका अनुसार गत असार महिनामा इन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेडको महुली शाखा, स्वावलम्बन लघुवित्त विकास बैंकको महुली शाखाका कर्मचारीहरुले भुजेलको घरमै पुगेर सबै सामान लगेपछि उनी निकै तनावमा रहँदै आएकी थिइन् ।

शान्ताका तीन छोरा छोरी छन् । दुई छोरीको बिहे भइसकेको छ भने एक छोरा वैदेशिक रोजगारमा छन् । बुहारी माइतमा छिन् । भीमबहादुर र श्रीमती शान्ता घरमा बस्ने गरेका थिए ।

शान्ताको शवको पोस्टमार्टम गरी मृतक परिवारलाई जिम्मा लगाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *