धौलागिरी लघुवित्तीय संस्था र सनराईज क्यापिटल लिमीटेड बिच साधारण शेयर निष्काशन सम्झौता भएको छ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, बागलुङ नगरपालिका—२, ले निष्काशन गर्नुपर्नेे ३,००,००० कित्ता साधारण शेयर निष्काशन गर्नको लागि श्री सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेपछि उक्त सम्झौता भएको हो ।
उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाको तर्फवाट प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरा तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौमा सम्झौता माघ १२ गते भएको हो ।
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेड राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको ईजाजपत्र प्राप्त गरी मिती २०७५/११/०१ देखी वित्तीय कारोबार गर्दै आईरहेको वित्तीय संस्थाले बि.स. २०७८ पुष मसान्त सम्ममा नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरु मार्फत कुल १९१ जना कर्मचारी परिचालन गरि ३४,४३८ सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।
सोही अबधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानी तर्फ रु. १ अर्ब ४४ करोड, निक्षेप संकलन तर्फ रु. ६२ करोड १४ लाख रहेकोमा अन्तर बैंक सापटी रु.६१ करोड ८० लाख रहेको बताइएको छ । हाल चुक्ता पूँजी ७ करोड रहेकोमा सार्वजनिक शेयर निष्काशन भए पश्चात् रु. १० करोड चुक्ता पुजि कायम हुनेछ ।
हाल जगेडा तथा कोषहरु तर्फ कुल रु.१० करोड ३८ लाख रहेको छ । आर्थिक बर्ष २०७७।०७८ को आषाढ मसान्त सम्ममा वित्तीय संस्थाको वितरण योग्य मुनाफा रु.२ करोड ६० लाख रहेकोमा पुष मसान्त सम्मा आईपुग्दा उक्त वितरण योग्य मुनाफा रु.४ करोड ९ लाख पुगेको छ ।
आर्थिक बर्ष २०७७।०७८ को मसान्तमा प्रतिशेयर आम्दानी रु.५०.१२ भन्दा बढि कायम गरेकोमा पुष मसान्त सम्ममा आईपुग्दा रु.६१.४५ प्रतिशेयर आम्दानी कमाउन सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले जानकारी दिए ।








