फर्स्ट माइक्रोफाइनान्सको लाभांश राष्ट्र बैंकबाट स्वीकृत, एजिएम र बुकक्लोज मिति पनि तय

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ। फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षको वितरयायोग्य मुनाफाबाट हालको चुक्तापुँजी १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो। सोही लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको हो।

योसँगै फर्स्ट माइक्रोफाइनान्सको सोमबार पुस ४ गते बसेको सञ्चालक समितिले १३औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

संस्थाको वार्षिक साधारणसभा यही पुस ३० गते काठमाडौंको भाटभटेनीस्थि आम्रपाली ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले प्रस्तावित लाभांश स्वीकृति गर्नुका साथै उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।

बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावली पनि संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

अन्य उपयुक्त लघुवित्त संस्था गाभ्ने, गाभिने वा प्राप्ति प्रयोजनका लागि आवश्यक भए सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले यही पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *