

सर्वसाधारणले आफ्नो कमाइ जोगाएर सुरक्षितसाथ राख्ने स्थानको रुपमा बैंकलाई लिएका हुन्छन् । सर्वसाधारणले जम्मा गरेको रकम आफूलाई आवश्यक परेको जुनसुकै समयमा निकाल्न पाउने सुविधाका लागि बैंकहरुको एटिएम सेवा प्रयोग गर्छन् । यस्ता एटिएमहरुमा सुरक्षागार्डको व्यवस्था समेत गरिएको हुन्छ ।
तर त्यति हुँदा हुँदै पनि पछिल्लो समय बैंकका एटिएमहरु नै तोडफोड गरेर त्यहाँ भएको रकम लुटिनेदेखि एकाउन्ट नै ह्याक गर्नेसम्मका प्रकरणहरुले बैंकमा रहेका सवर्वसाधारणको रकम जोखिममा पर्दै आएको छ । जसले गर्दा बैंकले सुरक्षाका हरेक उपायहरु अपनाउँछन् । सुरक्षाकर्मीहरु समेत थपेर बैंकका सबै शाखाहरु र एटिएम बुथहरुसमेत सुरक्षित बनाएका हुन्छन् ।
तर बैंक नै असुरक्षित भए सर्वसाधारणको रकम कसरी सुरक्षित हुन्छ त ? यो प्रश्न अहिले नबिल बैंकको सुरक्षा व्यवस्थामाथि उठेको छ ।वाणिज्य बैंकहरुमा आफुलाई अब्बल दाबी गर्ने नबिल बैंकले एकै पटक ठूलो मात्रामा सुरक्षा गार्डहरुलाई सेवाबाटनै हटाएर उनीहरुको रोजीरोटी खोसेको मात्र छैन सर्वसाधारणको अर्बौं रकमसमेत जोखिममा पारेको छ ।
नबिल बैंकमा लामो समयदेखि कार्यरत रहँदै आएका एक सुरक्षागार्डका अनुसार बैंकले धेरै शाखाहरुमा सुरक्षार्थ खटिँदै आएका सुरक्षा गार्डहरुको तलबसमेत घटाएको छ । बैंकमा २४ सै घण्टा सुरक्षाकर्मी तैनाथ राखी बैंक र सर्वसाधारणको रकमको सुरक्षा गर्नु पर्नेमा अचानक जिम्मेवारी घटाउने, खाइपाइ आएको तलबमानमा पनि ठूलै अन्तर हुने गरी घटाउने र बैंकमै बसेर आवासको सुविधा लिएका सुरक्षागार्डहरुलाई पनि राति बैंकमा बस्नु पर्दैन अन्तै जाउ भन्ने बैंकका म्यानेजरको ठाडो आदेशले आफूहरुलाई अचम्मित बनाएको ती सुरक्षा गार्डले बताए ।
अर्थसंजालका प्रतिनिधिसँगको भेटमा ती सुरक्षागार्डले भने – बैंकको सुरक्षा कसरी हुन्छ भन्ने सुरक्षा गार्डलाई मात्र थाहा हुन्छ । हामीले एकैछिन् दायाँ बाँया नजर पुर्याउदा त कसैले केही बिगारी हाल्यो कि भन्ने डर हुन्छ । झन् बैंकबाटै सुरक्षागार्ड हटाउँदा त बैंक कसरी सुरक्षित हुन्छ ?
२४ सै घण्टा पहरा दिँदा पनि कति बैंकहरु लुटिएको समेत उदाहरण दिँदै उनले आफूहरुलाई रातिको समयमा बैंक र एटिएमसमेतमा ताल्चा लगाएर आ–आफ्नो व्यवस्था गर्न निर्देशन आएको बताए । नाम उल्लेख गर्न एकदमै डराएका उनले काठमाडौंमा भएको बैकको शाखा राति ८ बजे बन्द गरेर अर्को जिल्लामा रहेको घरमा पुग्न असम्भव रहेको सुनाए । नजिकै कोठा लिएर बस्न पनि बैंकले दिएको तलबले नधान्ने दुखेसो उनको छ ।
बैंकलाई बुढेसकालमा पुर्याएको योगदानको अवमूल्यन गरी आफू जस्ता सयौं सुरक्षागार्डहरुलाई कि गर कि मरको अवस्थामा पुर्याई हतोत्सायी बनाएर जागिर छोड्न बाध्य पारेको उनको भनाइ रहेको छ ।
यस बिषयमा बैंक प्रशासन भने सुरक्षागार्डभन्दा पनि इलेक्ट्रिनिक माध्यमबाट बैकिङ सुरक्षा प्रणालीलाई व्यवस्थित बनाउन खोजिएको दाबी गर्छ । अहिलेको प्रविधियुक्त सुविधालाई प्रयोग गरी सबैतिर सिसिटिभी क्यामेराहरु राखेर २४ घण्टा नै बैंकको केन्द्रबाटै सुरक्षा अनुगमन गर्ने बैंकको नीति भएकोले मानवमुक्त सुरक्षा व्यवस्थामा बैंकले जोड दिएको दाबी बैंकका सूचना अधिकारी सुरेस त्रिपाठीको रहेको छ । सुरक्षागार्डहरुको सुविधा खोसिएको स्विकार गर्दै यो केन्द्रको निर्णय भएको बताउदै सुरक्षा जोखिम भने जसो गरे पनि नहट्ने उनले जिकिर गरे ।
पहिले सुरक्षा गार्डहरु बन्दुक नै बोकेर बस्दा पनि सुरक्षा जोखिम हुने गरेको भन्दै त्रिपाठीले अहिले डिजिटल प्रविधिबाट बैंकको सुरक्षा नीति अपनाउँदा कतिको जोखिम हुने रहेछ भनेर परिक्षण गर्न लागिएको बताए । सुरक्षा गार्डले भने झैं उनले सुरक्षा जोखिम रहेका ठाउँमा राति एटिएम बन्दनै गर्न लागेको बताए ।
त्रिपाठीले डिजिटल प्रविधिबाट बैंकको सुरक्षा गर्ने बताए पनि यो सम्भव नहुने अर्का सुरक्षा गार्डले बताए । आफूहरुको सुविधाको मात्र सवाल नभइ लामो समयदेखि आफुहरुले गरेको योगदानको कदर नहुनु,कुनै विकल्पनै नदिइ आफैं हट्ने गरी हतोत्सायी बनाउनु र बैंकको केन्द्रबाटै शाखा र एटिएमहरुको सुरक्षा गर्छौं भन्नु उडन्ते कुरा रहेको तर्क उनले गरे । सर्वसाधारणको रकम राखिने ठाउँमा २४ घण्टा सुरक्षा गार्ड खटिँदासमेत जोखिम हुँदा हुदै मानव मुक्त गरेर सुरक्षा कुनै हालतमा हुन नसक्ने उनले बताए ।
मानौं उहाँहरुले केन्द्रबाट सिसीटिभीमा हेर्नुहोला, कतै तोडफोड र डकैती हुँदै गरेको अवस्थामा सिसीटिभीमा हेरेर के हुन्छ ? देख्नु पो होला त । तर, त्यस्तो डकैती गरिरहेको रहेछ भने कसले समाउँछ ? प्रहरीलाई खबर कसले गर्छ ? के केन्द्रको मान्छे तत्कालै घटनास्थलमा पुग्न सक्छ ? उनले प्रश्न गरे ।
उनले राति ८ बजे बैंकमा ताल्चा लगाएर बिहान ८ बजे आएर कार्यालय खोल्न भनिएको भन्दै बैंकले सुरक्षा गार्डहरुमाथि अन्याय गरेको दुखेसो गरे । नबिल बैंकले अन्यायपूर्ण व्यवहार गरेको मध्ये आफू प्रतिनिधि पात्र भएको र देशैभरका शाखामा कार्यरत गार्डहरुको अवस्था पनि आफूहरुको जस्तै रहेको उनको भनाई छ ।
अर्थ सन्जाल