नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो २९औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २५ गते काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना गर्ने निर्णय गरेको हो । सभा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८/७९का प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १०.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
बोनस सेयर जारीपछि बैंकको जारी तथा चुक्तापुँजीमा परिवर्तन गर्नुपर्ने भएकोले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने, गाभिने वा प्राप्ति गर्न आवश्यक सहमति र सम्झौता गर्नेलगायत बैंकका तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरुश्र गर्ने तथा गराउने अख्तियार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले यही पुस १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले पुस १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।






