कालोसूचीमा त्रिपुरेश्वर शिक्षा क्याम्पस

सिन्धुली जिल्लाकाे तीनपाटन गाउपालिका वडा नं. ८ बाहुनतिल्पुङमा रहेको त्रिपुरेश्वर शिक्षा क्याम्पस विश्व विद्यालय अनुदान आयोगको कालोसूचीमा परेको छ ।

तीनपाटन गाउपालिका वडा नं. ८ का वडाध्यक्ष रेखराज अधिकारीले क्याम्पस कालोसूचीमा रहेको भन्ने अपुष्ट सूचनाका आधारमा वास्तविकता के हो भनी बुझ्न काठमाडौं आई बाहुुनतिल्पुङ सरोकार समाजका अध्यक्ष युवराज देवकोटासहित विश्व विद्यालय अनुदान आयोगको कार्यालय पुगी बुझ्दा क्याम्पस कालोसूचीमा रहेको समाचार वास्ताविक भएको जानकारी कार्यालयमा कार्यरत विश्व ढकालले दिए ।

यस सन्दर्भमा मिति २०७७ असार २१ मा विश्व विद्यालय अनुदान आयोग र त्रिपुरेश्वर शिक्षा क्याम्पसबीच सहमति भइ रु. चालिस लाखको भवन निर्माण सम्झैता गरी रु. बिस लाख निकासा भएको रहेछ । क्याम्पसका तर्फबाट सहायक क्याम्पस प्रमुख दुर्गा प्रसाद अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

निकासा भएका रु. बिस लाख फस्र्यौट गरी बाँकी बिस लाख पुन निकासा गर्नु पर्नेमा पहिलाकै रकम फस्र्यौट गर्न नसकेको कारण क्याम्पस कालोसूचीमा रहेको जानकारी विश्व ढकालले दिए । यस सम्बन्धमा सम्बन्धित सरोकारवाला सबैको चासो रहनु आवश्यक देखिन्छ ।

क्याम्पस कालोसूचीमा पर्दा समेत सम्बन्धित क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद अधिकारी, क्याम्पस प्रमुख भीमप्रसाद अधिकारी, सहायक क्याम्पस प्रमुख दुर्गा प्रसाद अधिकारी, उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण अधिकारी लगायत क्याम्पसका जिम्मेवार पदाधिकारीहरुले कसैलाई आधिकारिक सूचना नदिनु, तोकेको समयमा कार्य सम्पन्न गरी विवरण नबुझाउनु, विश्व विद्यालय अनुदान आयोगले बारंबार ताकेता गर्दा पनि व्यवास्ता गरेर क्याम्पसको भविष्यमाथि नै खेलवाड गरेको देखिन्छ ।

यस्ता प्रवृत्तिका अक्षम्य गतिविधि गर्नेहरुप्रति स्थानीय जनसमुदाय लगायत सरोकारवाला सबै खरो उत्रदै आगामी दिनमा त्यस्ता कार्यहरु नदोहोर्‍याउन र क्याम्पसको उज्जवल भविष्यको लागि सम्बन्धित सबैको ध्यानाकर्षण हुनु जरुरी देखिन्छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *