डलर अर्बपति विनोद चौधरी : जसलाई राजनीतिले झुपडीका जनताको पाउ छुने बनायो [फलोअप]

आमनिर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल, उम्मेदवार, मतदाता सबैलाई चुनाव राम्रैसंग लागेको देखिन्छ । मतदानका लागि दुई हप्ता मात्र बाँकी रहँदा दल तथा उम्मेदवार आफ्नो पक्षमा जनमत पार्न अनेक सपना देखाउनमा व्यस्त छन् भने मतदाताहरु पनि आफू र आफ्नो क्षेत्रको ‘बेटर’ उम्मेदवार को हुन् सक्छ भन्ने गहन छलफलमा जट्ने गरेका छन् ।

मुलुक संघीय लोकतान्त्रिक गणतत्रात्मक प्रणालीमा गएपछि दोस्रो पटक हुन लागेको यस पटकको निर्वाचन विगतका भन्दा पृथक हुने विश्लेषण सबैले गरेका छन् । उदाहरणः हामीले गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको चुनाव देखिसकेको छौं ।

मंसिर  ४ मा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन यो मानेमा पनि पृथक हुने अनुमान सबैले गरेका छन् । स्थानीय चुनावपछि देशमा स्वतन्त्रको लहरै चलेको छ । यस पटक खेलाडी, खेलक, कलाकार, पत्रकार, डाक्टर, इन्जिनियर, उद्योगी–व्यवसायी, विभिन्न क्षेत्रका विज्ञ तथा यसअघि दलमै रहेकाहरु पनि स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिएका छन् । यी नै स्वतन्त्र तथा दलीय उम्मेदवारहरुको भीडमा एउटा उदाहरण हुन् – विनोद चौधरी

अमेरिकाको फोर्ब्स म्यागेजिनमा नेपालको पहिलो अर्बपतिका रुपमा सूचिकृत उद्योगपति चौधरी नेपाली कांग्रेस केन्द्रीय सदस्य हुन् । अन्तर्राष्ट्रिय स्तरमै एउटा सफल व्यवयायीका रुपमा स्थापित भइसकेका डलर अर्बपति चौधरी आगामी प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट सत्ता गठबन्धनका साझा उम्मेदावर हुन् । २०६४ र ०७४ मा कांग्रेसबाट समानुपातिक सांसद बनेका उनी यसपाली भने पहिलो पटक प्रत्यक्ष चुनाव लड्दै छन् ।

आफ्नै क्षेत्रमा अब्बल कहलिएर पनि राजनीतिबाट टाढिन नचाहेका उनी चुनाव आउन महिनौं अघि देखि निर्वाचन क्षेत्रमा केन्द्रित छन् । विश्वका प्रतिष्ठित अर्बपतिहरुको भीडमा उभिएर हात मिलाउँदै अंकमाल गर्ने चौधरीलाई राजनीति (चुनाव)ले सर्वसाधारणको पाउ ढोग्ने, उनीहरुसँग हात मिलाउने, र चकटीमा बसेर खाने बनाएको छ ।

करोडौंको आलिसान महलमा बस्ने चौधरी अहिले गरिबको झुपडीमा बास बस्ने भएका छन् । करोडौं पर्ने चिल्ला सवारीमा सवार हुने उनलाई सर्वसाधारणको डेढ दुई लाख पर्ने मोटरसाइकल र रिक्साको पछाडी बसेर यात्रा गर्ने बनाएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ लाई आफ्नो चुनावी क्षेत्र बनाएर जनताको हित र समृद्धिका लागि राजनीतिमा होमिएको दाबी गर्ने चौधरीले चाहेका भए उक्त ठाउँको बिकास र त्यहा जनताको स्तरउन्नतिका लागि असम्भव भन्ने केहि थिएन । स्थानीय स्तरमा उधोग धन्दा खोल्ने र रोजगारी सिर्जना गर्नु उनका लागि सामान्य बिषय थियो । तर अर्बपतिमा पनि नम्बर वान बन्ने होडवाजीमा उनले न त्यो ठाउँको समस्या देखे न स्थानीय जनताको आवस्यकता ।

तर सत्ता प्राप्तिको मोह बोकेर चुनावी अभियान गर्दै हिडेका उनले मतदातासँगको भेटघाटका क्रममा उनीहरुका सामान्य आवश्यक्तासमेत पूरा नगरिएको बताए । नागरिकको नैसर्गिक अधिकारभित्र पर्ने समामान्य आवश्यक्ता समेत पूरा नगरिएको देख्दा आफूलाई पीडा बोध भएको उनको भनाइ छ । ‘गरिखाने सामान्य नागरिकको माग भरपर्दो स्वास्थ्य, शिक्षा र नैसर्गिक अधिकारको प्रत्याभूती हुने वातावरणको सुनिश्चितता मात्रै हो’, चौधरीले भने, ‘तर उनीहरुका सपनामाथि सधैँ खेलवाड गरियो ।

‘२७ दिन म यो क्षेत्रमा डुलेँ । नागरिकका सामान्य भन्दा सामान्य आवश्यकता समेत पूरा नभएको देख्दा मलाई पीडा लाग्यो, जुन नागरिककोको नैसर्गिक अधिकार भित्र पर्छन् ।’

चौधरीले अहिले मतदातामाझ जुन व्यवाहार देखाइरहेका छन्, बोलिरहेका छन् यसलाई जिते भने पनि निरन्तरता दिन्छन् अथवा विगत जनप्रतिनिधि जस्तै जिताएर पठाएपछि गाउँ बिर्सन्छन् भन्ने कुरामा मतदाताहरु भने संशकित छन् ।

कतिपयले अर्बपतिले सर्वहारा गरिबको पीडा बोध गर्न नसक्ने बताउने गरेका छन् भने केहीले विकास, समृद्धि र विकासको बाटोमा देशलाई नै अघि बढाउलान की भन्ने झिनो आस बोकेका छन् । यी दुई दाबीलाई पुष्टि गर्न भने मंसिर ४ र त्यसपछिको पाँच वर्ष नै कुर्नुपर्ने विश्लेषकहरु बताउँछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *