‘वे टु लिस्टिङ’ सेवाका लागि कुमारी क्यापिटल र आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीबीच सम्झौता

कुमारी क्यापिटल लिमिटेडले ‘वे टु लिस्टिङ’ सेवाअन्तर्गत नेपालको प्रचलित कानुनबमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई कम्पनीको स्थापनादेखि धितोपत्र विनिमय बजारमा सूचीकरण गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ।

सोही सेवाअन्तर्गत कुमारी क्यापिटलले आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेडलाई आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने, धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्रीप्रबन्धकका रुपमा कार्य गर्ने तथा सेयर रजिस्ट्रार सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा कुमारी क्यापिटलका नायब महाप्रबन्धक पुष्प शर्मा तथा आराभा नेपालका अध्यक्ष कृष्णप्रसाद बजगाईंले हस्ताक्षर गरेका छन्।

इजरायलबाट कृषिसम्बन्धी सिप तथा तालिम प्राप्त गरी स्वदेश फर्किएका युवाहरुको अगुवाइमा स्थापित आराभा नेपाल एकीकृत कृषिमार्फत विभिन्न कृषिजन्य वस्तुहरुको उत्पादन, कृषि शिक्षा तथा कृषि पर्यटन विकासलगायतका कार्यहरु गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन भइरहेको छ । यो कम्पनीले आफ्नो सहायक कम्पनि एएनएमसी एग्रो प्रालिमार्फत कृषकहरुलाई आवश्यक पर्ने हरित गृह निर्माण, थोपा सिँचाइ प्रविधिको विस्तार, आधुनिक कृषि परामर्श तथा कृषि औजारहरुको बिक्रीवितरणसमेत गर्दै आइरहेको छ।

आराभा नेपाल तथा गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, नेपाल आर्मी व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्र, र कर्णाली प्रदेशका स्थानीय निकायसँगको साझेदारीमा व्यावसायिक ‘इन्कुवेसन सेन्टर’ मार्फत ‘लर्न एन्ड डु’ तालिम सञ्चालन गर्दै आइरहेको छ । यसका अतिरिक्त कम्पनीले नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रको सहकार्यमा सञ्चालन हुने व्यावसायिक कृषि उद्यम विकास कार्यक्रमको कार्यान्वयन साझेदारका रुपमा समेत कार्य गर्दै आइरहेको छ।

नेपालको कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत आराभा नेपाल श्रम तथा रोजगार मन्त्रालयबाट ‘सर्वोत्कृष्ट उद्यमी पुरष्कार’ तथा ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’बाट पुरस्कृत भइसकेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *