ब्याजदर वृद्धि : चपेटामा ऋणी, अर्थविद् भन्छन्– अर्थतन्त्रलाई आर्थिक मन्दीतर्फ लैजान्छ

बैंक तथा वित्तीय संस्थाहरुले असोज एक गतेदेखि लागू हुने गरी ब्याजदर बढाएसँगै यो विषयले चर्चा पाएको छ । बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर १७ प्रतिशतभन्दा माथि पुर्याएका छन् भने निक्षेपको ब्याजदर १५ प्रतिशतभन्दा माथि पुर्याएका छन् । विगत ६ महिनादेखि स्थिर रहेको ब्याजदर असोज महिनामा भने बढाएका हुन् ।

नेपाल बैंकर्स संघले विगत ६ महिनादेखि निक्षेपमा ब्याजदर नबढाउने गरी गर्दै आएको भद्र सहमति खारेज गरेसँगै बैंकहरुले ब्याजदर बढाएका हुन् । भदौ ३० गते, बिहीबार बसेको संघको कार्यसमिति बैठकले ब्याजदर निर्धारणलाई स्वतन्त्र छोड्ने निर्णय गरेको थियो । गत फागुनदेखि नै बैंकहरुले निक्षेपको ब्याज बढाएका थिएनन् । सबै बैंकले मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याज दिँदै आएका थिए ।

अहिले वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अधिकतम १२.१३ प्रतिशत पुर्याएका छन् । राष्ट्र बैंकले अघिल्लो महिनाको औसत ब्याजदरको १० प्रतिशत मात्रै बढाउन पाउने व्यवस्था गरेकोले असोजमा बैंकहरुले अधिकतम १२.१३ प्रतिशत ब्याजदर कायम गरेका हुन् । बैंकहरुले ब्याजदर बढाएसँगै व्यवसायीदेखि लगानीकर्ता समेत असन्तुष्ट छन् ।

चपेटामा ऋणी

कोरोना माहामारीबाट थलिएर बल्ल व्यवसाय विस्तारै चल्मलाउन थालेको छ । व्यवसाय बल्ल तंरिन थालेसँगै केही राहत महसुस गरेका उद्योगी–व्यवसायीलाई फेरि बढ्दो ब्याजदरको तनाव थपिएको छ । बजार बिस्तारै चलायमान हुँदै गर्दा अचानक बैंक तथा वित्तीय संस्थाले ब्याज बढाएपछि ऋणीहरु मारमा परेका छन् । बैंक तथा वित्तीय संस्थाबाटै कर्जा लिएर व्यवसाय सञ्चालन गरिरहेका ऋणीहरुलाई ब्याजदर वृद्धिले थप चुनौती थपिदिएको छ ।

एकातिर अर्थतन्त्र सुस्त बन्दा व्यवसाय फस्टाउँन नसेकको अहिलेको अवस्थामा झनै ब्याजदर वृद्धिले अर्को बोझ व्यवसायीलाई थपिदिएको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुलाई अहिले ‘खाई न पाई छालाको टोपी लाइ’ भनेजस्तै भएको छ ।

अर्थतन्त्रमा नकारात्मक असर पर्ने चिन्ता

ब्याजदर बढ्दा अर्थतन्त्रमा ठूलो असर पार्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । निक्षेपको ब्याजदर बढ्दा मान्छेहरु लगानी गर्नभन्दा पनि बैंकमा पैसा जम्मा गर्न रुचाउँछन् ।

यसले लगानीका अन्यत्र क्षेत्रलाई ठूलो असर पार्छ । त्यति मात्र होइन बैंकमा निक्षेपको ब्याजदर बढ्दा लागत पनि बढ्न जान्छ । यसको असर बैकले प्रवाह गर्ने कर्जा लगानीमा देखिन्छ ।

ऋणको ब्याजदर बढ्दा लागतको मूल्य बढ्न पुग्छ र लागत बढेपछि लगानीकर्ता थप लगानीका लागि उत्साहित हुँदैनन् । लगानी कम हुन थालेपछि त्यसको असर आर्थिक विकासमा पुग्छ ।

ब्याजदर वृद्धिले अर्थतन्त्रलाई आर्थिक मन्दीतर्फ लैजाने अर्थविद् चन्द्रमणि अधिकारी बताउँछन् । उनी भन्छन्, ‘ब्याजदर वृद्धिले अर्थतन्त्रमा नकारात्मक असर पार्छ । उद्योग व्यवसायहरु विघटनतर्फा जान सक्छ । परियोजनाहरु पनि नचल्ने अवस्था हुन सक्छ । मान्छेले ७० प्रतिशत पैसा त बैंकबाटै लिएर चलाउने हो । चाहे हाइड्रोपावर प्रोजेक्ट अथवा अन्य खालका प्रोजेक्ट हुन् । बैंकबाट कर्जा लिएर अघिकांशले व्यवहार टारेका हुन्छन् । यसले सबै क्षेत्रमा प्रभाव पार्छ ।’

ब्याजदर बढ्दैमा वित्तीय प्रणालीमा सुधार नआउने उनी बताउँछन् । एउटा बैंकको पैसा अर्को बैंकमा जाने र एक ठाउँको पैसा अर्को ठाउँमा जाने मात्र हो । ब्याजदर वृद्धिले भएको सिस्टम पनि भद्रगोल हुने उनी बताउँछन् ।

वित्तीय क्षेत्रमा सुधार आउनका लागि वैदेशिक लगानी, विप्रेषण लगायतबाट पैसा आउनुपर्ने उनी बताउँछन् । उनी थप्छन्, ‘लगानीको स्रोत नबढाउने अनि भएकै पैसालाई ब्याजदर मात्र बढाउने काम गर्दा यसले त अर्थतन्त्रलाई प्रतिकुल प्रभाव पार्छ । यसले आम मान्छेको दैनिकलाई समेत असर पार्छ । यसले अर्थतन्त्रलाई असर पार्छ । यो निकै चुनातीपूर्ण विषय हो ।’

विश्वमा धेरै केन्द्रीय बैंकहरुले ब्याजदर बढाउँदा आर्थिक मन्दीको अवस्था सिर्जना भएको उनी स्मरण गर्छन् । ब्याजदर बढ्दा मुद्रास्फीति बढेर जान्छ । ब्याजदर बढ्नु भनेको बजारमा मूल्य बढ्नु हो । यसले उत्पादनदेखि उद्योगसम्म असर पर्न जान्छ । ब्याजदरलाई कसरी सीमामा राख्न सकिन्छ भनेर राष्ट्र बैंक र अर्थमन्त्रालयले सरोकारवालाहरुसँग रणनीतिक छलफल गर्नुपर्ने बेला आएको उनले बताए ।

ब्याजदर घटाउनुपर्नेमा अर्थमन्त्रीको जोड

बैंकको ब्याजदर घटाउनुपर्नेमा अर्थमन्त्री जनार्दन शर्माले जोड दिएका छन् । बैंकमा ब्याज पाउने उद्देश्यले पैसा थुपारेर राख्दैमा उत्पादन नहुने उनको भनाइ छ । बैंकले दिने गरेको ब्याज घटाउन सरकार लागि परेको उनले बताए ।

सरकारले लिएको राम्रो आर्थिक नीतिका कारण अहिले नेपालका आर्थिक सुचाङकहरु सकरात्मक अवस्थामा पुगेको उनको दाबी छ । केही तरलताको अभाव अझै कायम रहेको र यसमा सरकारले काम गरिरहेको अर्थमन्त्री शर्माले बताए ।

महासंघको ध्यानाकर्षण

यता नेपाल उद्योग वाणिज्य महासंघले बैंक वित्तीय संस्थाले ब्याजदर वृद्धि गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ब्याजदर वृद्धिका कारण कोभिड महामारी तथा वित्तीय क्षेत्र असन्तुलनका कारण अप्ठ्यारोमा परेका उद्योगी व्यवसायी झन् प्रभावित हुने महासंघले जनाएको छ ।

बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको भन्दै महासंघले उत्पादित सामानको मूल्य अकासिएर आम सर्वसाधारणको जीविका पनि कष्टकर हुँदै गएको जनाएको छ । आठ प्रतिशतभन्दा माथि पुगिसकेको मुद्रास्फीति दरलाई बैंक वित्तीय संस्थाको यस निर्णयले थप माथि लैजाने महासंघको ठहर छ ।

अन्त्यमा, ब्याजदर वृद्धि भएपछि देशको उद्योग वाणिज्यदेखि आम नागरिक जीवनयापनमा समेत कठिनाई थपिदिन्छ । लगानीका सम्भावना बिस्तारै खुम्चँदै जान्छन् भने रोजगारी विस्तार हुन सक्दैन । लगानीको सम्भावना खुम्चनु भनेको उत्पादन घट्नु हो उत्पादन घट्दा आयात झनै बढ्दै जान्छ । जसले वैदेशिक व्यापार घाटालाई समेत वृद्धि गर्छ ।
ब्याजदर बढ्दैमा अर्थतन्त्र चलायमान हुँदैन । यसअर्थ अर्थतन्त्रका समस्याका पहिचान गरेर ब्याजदर बढाउनुको विकल्प खोज्नु जरुरी छ ।

 

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *