नेपालीहरुको महान चाड वडादशैँ नजिकिएको छ । दशैँ नजिकिएसँगै बजारमा चहलपहल सुरु भइसकेको छ । बजारमा दशैँको लागि किनमेल गर्नेहरुको भीड बाक्लिन थालेको छ । दशैँ मिठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने चाडका रुपमा लिइन्छ ।
दशैँ र मासु पर्यायवाची जस्तै मानिन्छ । यो बेला सबैको भान्सामा मासु पाक्छ । दशैँमा अन्य समयको भन्दा धेरै नै (४/५ गुणा बढी) मासु खपत हुने गरेको छ । केही वर्ष अघिसम्म दशैँमा माग धान्नका लागि विदेशकै भर पर्नुपर्ने बाध्यता थियो । तर पछिल्लो समय उत्पादनमा वृद्धिसँगै स्वदेशी उत्पादनले नै माग धान्ने अवस्था रहेको मासु व्यवसायीहरु बताउँछन् ।
६० हजार खसीबोका खपत हुने अनुमान
काठमाडौं उपत्यकामा करिब ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवर्ध्दन कार्यालयका प्रमुख डा. माधव अर्याल बताउँछन् । गत वर्ष ४३ हजार खसीबोका खपत भएको थियो । यस वर्ष गत वर्षको तुलनामा माग बढ्ने अनुमान गरिएको उनले बताए ।
उनी भन्छन्, ‘हामीले यो दशैँलक्षित खसीबोकाहरुको आपूर्ति के हुन्छ भन्ने विषयमा केही दिन अघि सम्बन्धित सरोकारवालाहरुसँग विभागमा छलफल गर्यौं । खसीबोकाको आपूर्तिमा संलग्न हुने व्यवसायीहरु, उत्पादक, माछामासु व्यवसायी संघ, सबै संघसंस्थाका प्रतिनिधि तथा प्रमुखहरुको छलफलमा स्थिति के छ भनेर एउटा मोटामोटी आकलन गरियो ।
विगत २ वर्षदेखि कोभिडका कारण मान्छेहरुले चाहीँ चाडपर्व राम्रोसंग मनाउन नपाएको अवस्थामा यो वर्ष स्थिति अलिकति सहज पनि भएको हुँदा चाडपर्वमा माछामासुको खपत हुने अनुमान गरिएको छ । गत वर्ष ४३ हजार खसीबोका आवश्यक पर्छ भन्ने आकलन गरिएको थियो । यो वर्ष स्थिति अलिक सहज भएको हुँदाखेरि काठमाडौं उपत्यकामा ६० हजार खसीबोका खपत हुने आकलन गरिएको छ ।’
दशैँको अष्टमीदेखि दशमीसम्म तीन दिन उपत्यकामा मासुको धेरै माग र खपत हुने गर्छ । दशैँमा धेरैजसो मानिस उपत्यका बाहिरिने भएको हुँदा मोटामोटी रुपमा दशैँमा करिब ६० हजार खसीबोका आवश्यक पर्ने पशु सेवा विभागले जनाएको छ । एउटा खसीबोकाको मासु औसतमा २० किलोको दरले हिसाब गर्ने हो भने पनि काठमाडौं उपत्यकामा मात्रै १२ लाख किलो मासु खपत हुने अर्यालले बताए ।
मासुमा आत्मनिर्भर
मासुजन्य उत्पादनमा स्वदेशी उत्पादनले नै माग धान्ने अवस्थामा मुलुक पुगिसकेको पशु सेवा विभागका सूचना अधिकारी तथा वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकाल बताउँछन् ।
‘समग्रमा मुलुकको कुल उत्पादन पर्याप्त छ । यसलाई बजारीकरणका संयन्त्रहरुको पर्याप्त विकास नहुँदा विदेशबाट पनि आयात हुने गरेको छ । आयात गर्न सहज हुन्छ । एकैपटक धेरै मगाउन पाइयो । तर स्वदेशी उत्पादन संकलन गर्न कठिन भयो त्यो हुँदा चाहीँ आयात बढी देखिएको मात्र हो’, उनले भने ।
अहिले नेपालले वार्षिक ६० लाख लाख खसीबोका खपत हुने गरेको छ । यो माग मुलुकको उत्पादनले नै थेग्ने उनले बताए । राँगा, सुँगुर लगायत अन्य मासुमा पनि नेपाल आत्मनिर्भर रहेको ढकाल बताउँछन् । माछामा पनि आत्मनिर्भरको नजिक पुगिसकेको उनले जानकारी दिए ।
दशैँका लागि भनेर विदेशबाट आयात नभए पनि अनौपचारिक क्षेत्रबाट चाहीँ आयात हुने अर्याल बताउँछन् ।
उनी भन्छन्, ‘दशैँकै लागि भनेर त्यस्तो विदेशबाटै त आउदैन तर अनौपचारिक क्षेत्रहरुतिब्बतबाट च्यांग्रा आयात होला, भारतीय सीमाका क्षेत्रबाट पनि खसीबोका भित्रिएला तर नभित्रिए पनि मुलुकको उत्पादनले माग धान्छ ।’
अहिले मुलुकभर १ करोड ३४ लाख जम्माजम्मी बाख्राको संख्या रहेको उनले बताए । यी तथ्यांकलाई हेर्ने हो भने पनि दशैँका लागि मात्रै ३ लाख २९ हजार हाराहारीमा खसीबोका रहेको उनले बताए । काठमाडौं उत्पादनमा त्यसको २५ प्रतिशत मात्र आउने हो भने लगभग ८२ हजार खसीबोका भित्रने उनको अनुमान छ । काठमाडौं उपत्यकाका लागि ६० हजार खसीबोका मात्र आंकलन गरिएको छ । जसका कारण पनि स्वदेशी उत्पादनली माग धान्ने उनले बताए । कुखुरा, राँगा, सुँगुर लगायतको माग पनि स्वदेशी उत्पादनले धान्ने उनले बताए ।
३ हजार खसीबोका बिक्री गर्दै खाद्य विभाग
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँलाई लक्षित गर्दै यस वर्ष करिब ३ हजार खसीबोका तथा च्याङ्ग्रा भित्र्याउने तयारी गरेको छ । घटस्थापनादेखि खसीबोका भित्र्याउने तयारी गरेको विभागले घटस्थापनाको भोलिपल्टदेखि खसीबोका बिक्री गर्ने योजना बनाएको छ ।
दशैँका लागि दाङ, हेटौंडा र धादिङ लगायतका देशका विभिन्न ठाउँबाट खसीबोका ल्याउनेछ । च्यांग्रा भने दार्चुलाबाट ल्याउने तयारी भइरहेको छ । च्यांग्रा मुस्ताङबाट ल्याउने भनिए पनि सम्भव नभएपछि दार्चुलाबाट ल्याउने तयारी गरिएको विभागले जनाएको छ ।
आयात घट्दै
बजारीकरण विस्तार बढेसँगै खसीबोका आयात घट्दै गइहेको छ । सरकारले स्वदेशी उत्पादनको बजारीकरणमा सहजीकरण गर्नको लागि आयातमा कडाइ गरेको छ ।
पहिले वार्षिक ४/५ लाखको हाराहारीमा आउने खसीबोका आउने गरेकोमा अहिले घटेर ४०/५० हजारमा झरेको ढकालले बताए । पहिले ८/१० हजार मेट्रिकटन वार्षिक आयात हुने गरेकोमा अहिले ३ हजार २५ सयमा झरेको उनले बताए । नेपाली बजारमा पनि उत्पादन बढेकोले पनि आयातलाई प्रतिस्थापन गर्नमा मद्दत पुग्ने ढकाल बताउँछन् ।






