केही समययता चलिरहेका सहकारी संस्थाका सञ्चालकहरु एकपछि अर्को गरी फरार हुने क्रम बढेपछि लाखौं बचतकर्ताको अर्बौं रकम जोखिममा परेको छ । आफ्नो बचत सुरक्षित ठानेर बसेका सर्वसाधारण त्यतिखेर छाँगाबाट खसेको जस्तो हुन्छन्, जतिखेर बचत फिर्ता गर्न सहकारी पुग्दा सहकारीको ढोकामा ताल्चा लागेको देख्छन् । पछिल्ला घटनाक्रमले उपत्यकाका अन्य चलिरहेका सहकारीहरुमाथि समेत आशंका पैदा भएको छ ।
ललितपुरको हात्तीवनमा अवस्थित मञ्जरी बहुउद्देश्यीय सहकारीका बचतकर्ता यतिखेर कहिले प्रहरी प्रशासन त कहिले प्रदेश सहकारी कार्यालय हेटौंडा धाउन बाध्य छन् । आफुले विदेशको राप सहेर खाइनखाई जम्मा गरेको करिव १० लाख रुपैयाँ बचत गरेको सहकारीका सञ्चालक सहकारी ताला बन्द गरेर फरार भएको खवर पाउनासाथ दुबईमा काम गरिरहेका नुवाकोटका राम ढकाल अडिन सकेनन् उल्टै २ लाख रुपैयाँ ऋणै काढेर भएपनि नेपाल फर्किए ।

राम जस्ता करिव ९सय जना बचतकर्ता अहिले यसरी नै जिल्लिएका छन् । मञ्जरी बहुउद्देश्यीय सहकारीका दुई जना सञ्चालक गुम थापा मगर र बुद्ध मोक्तान सहकारीमा जम्मा भएका रकम हिनामिना गरेर यतिखेर सम्पर्कबिहीन भएपछि बचतकर्ताहरु थप अन्यौलमा परेका हुन् । सञ्चालकद्वय मोक्तान र मगरले भाग्ने योजना बनाइसकेपनि बचतकर्तालाई अल्मल्याउन फोन सम्पर्क गरिरहँदा आशंका गर्न नसकिएको पीडितहरु बताउँछन् । हाल पीडितहरुले दिएको उजुरीका आधारमा बागमती प्रदेश सरकार भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय मार्फत प्रहरी हुँदै दुवै सञ्चालकलाई पक्राउ पूर्जी समेत जारी गरेको छ । सहकारीमा हुने खुकुलो नीतिको बलमा सहकारीमा खुलेआम ठगी भइरहँदा जिम्म्ोवार निकाय सहकारी विभाग भने सहकारी भनेको स्वनियमनको सिद्धान्तमा चल्ने हुँदा सहकारीका शेयर सदस्यहरुनै यसमा चनाखो र जिम्मेवार बन्नुपर्ने बताउँछ ।

यद्यपि पछिल्लो समय अनुगमनको पाटो बलियो बनाएको विभागको दाबी छ । त्यसो त २५ जना फरक परिवारका सदस्य भएर सहकारी दर्ता गर्न पाउने सजिलो कानुनी आधारलाई टेकेर सहकारी खोल्नेहरुको भीड बढेको छ । घरैपिच्छे दैलै पिच्छे सहकारी देखिन्छ सँगै ठगिनेको संख्या पनि उत्तिकै बढेको छ । उसो त सहर केन्द्रित र बचत केन्द्रित सहकारीमा देखिएको समस्याले गर्दा समूहमा आधारित सहकारी जसले सर्वसाधारणलाई सेवा र सशक्तिकरण गरेको छ तिनको समेत छवी धुमिल बन्न पुगेको छ ।
अझ पछिल्लो समय ठूलठूला चलेका सहकारी समेत संकटमा परेका समाचार बाहिरिएसँगै बचतकर्ताहरु त्रसित बनेका छन् । सम्बन्धित निकायले सहकारी दर्ता गरेपछि कानुनअनुसार सञ्चालन भएको छ कि छैन, अनुगमन गर्न आवश्यक छ भने सदस्यहरुले पनि सञ्चालकहरुले गरेका निर्णय र कामकारबाहीप्रति चनाखो बन्न जरुरी देखिन्छ ।







